arrow

संसदमा डा सुनील शर्माले पेश गरे स्वास्थ्य बीमा सम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
sunil-sharma-81-12-6.jpg

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा‍‍ सुनीलकुमार शर्माले स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधि उपचार कोष लगायतको प्रभावकारी व्यवस्थापन सम्बन्धी प्रस्ताव पेश गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा बुधबार उक्त प्रस्ताव पेश गर्दैै डा शर्माले एक लाख रुपैयाँको बीमा अपुग भएको र बीमाको सुविधा हरेक ठाउँमा हुनुपर्ने बताएका छन् । उनले सुदूरको बिरामी काठमाडौँ आउँदा कम्तीमा दुई लाख नै खर्च हुने भन्दै एक लाखको सुविधा लिन दुई लाख खर्च गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य भएको बताए । 

डा शर्माले गगनकुमार थापा स्वास्थ्य मन्त्री हुँदा बीमाकाे विषयको उठान गरेको भन्दै प्रशंसा गरे । तर अहिलेसम्म व्यवस्थित हुन नसक्नु दुर्भाग्य भएको बताए ।

संसदमा पेश गरिएको उक्त सार्वजनिक महत्वको प्रस्तावमा सांसदहरुले भाग लिँदै यो गम्भीर प्रकृतिको विषय भएको भन्दै यसलाई कार्यान्वयनमा लैजानुपर्ने बताएका छन् । उनीहरुले बीमा समय सान्दर्भिक भए पनि यसको रकम र कार्यान्वयन पक्ष निकै नै कमजोर भएको उनले बताए । 

यो प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नको लागि एक व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गर्नु रहेको उल्लेख छ । 

यसबाट सीमान्तकृत समुदाय, स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका र असुरक्षित समुदायलाई समेटिने डा शर्माको भनाइ छ । राष्ट्रिय स्वास्थ्य बीमा योजना स्थापना गर्नुपर्ने, कम आन्दानी भएका परिवार र असुरक्षित समूहका लागि स्वास्थ्य बीमा प्रिमियममा सहुलित प्रदान गर्नुपर्ने, निजी स्वास्थ्य सेवा प्रदायकहरूसँग साझेदारी गर्नुपर्ने, स्वास्थ्य बीमा सेवा प्रदायकको निगरानी र अडिट गरी पारदर्शी र जवाफदेही बनाउनुपर्ने, स्वास्थ्य बीमाबारे जनचेतना अभियान चलाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यो प्रस्ताव पारित गरेर सबै नेपालीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि गरी सेवा नपुगेकालाई प्रभावकारी ढंगले समेट्नुपर्ने, उपचार खर्चमा कटौती हुने, स्वस्थ जनसंख्या निर्माण हुने अपेक्षा सांसद डा शर्माको छ ।

उक्त प्रस्तावको समर्थन गर्दै सांसदहरुले हरेक नेपालीले बीमा सुविधा पाउनु पर्ने बताए । केही सांसदहरुले त विदेशमा सबै नागरिकको स्वास्थ्य निःशुल्क उपचार हुने गरेको भन्दै नेपालमा पनि निःशुल्क हुनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ