arrow

संसद बैठक केही घण्टाका लागि स्थगित, कार्यव्यस्थामा एमाले पड्कियो

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
sansad-nirwachan-aa.-jpg.jpeg

काठमाडौं । व्यवस्थापिका संसद बैठक केही घण्टाका लागि स्थगित भएको छ । सांसद मणिराम पोखरेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।  

यसअघि बिहान एमालेसहित विपक्षी ९ दलले आइतबारको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेका थिए । सरकारले संविधान संशोधन विधेयक पेश गर्न खोजे कुनै पनि हालथमा सदनको अवरोध नखोल्ने निर्णय भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

विपक्षी गठबन्धनको बैठकपछि संसदको कार्यव्यवस्था समिति बैठक बस्यो । कार्यव्यवस्थाको बैठकमा प्रमुख विपक्षी एमालेले सीमांकन हेरफेरसहितको संविधान संशोधन विधेयक अघि बढ्न नदिने अडान राख्यो । विपक्षी एमालेले सरकारले अहिलेसम्म कुनै सम्वाद नगरेको आलोचना गर्दै सर्वोच्चले समेत प्रदेशको सीमांकन हेरफेर असंवैधानिक हुने भनेको ढिपी कस्यो ।  

सीमांकन हेरफेरको प्रस्तावलाई फिर्ता लिए संशोधनका तीन विषय अघि बढ्न दिने पुरानो अडान पनि कायमै छ । सत्तापक्षले प्रक्रिया अघि बढाउनु पर्ने बताएको छ । आफुहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालगायत असन्तुष्ट दललाई आइतबारकै बैठकमा संशोधन विधेयक अघि बढाउने आश्वासन दिएकाले सभामुखले प्रक्रियामा लैजाने हिम्त गर्नु पर्ने सत्ताधारीको भनाई छ ।

कार्यव्यवस्थाको बैठकपछि सभामुख ओनसरी घर्तीले मुख्य ५ दल काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेतासँग छलफल गर्ने तयारी गरेकी छन् । एमालेले निर्वाचन र अन्य प्रक्रियाबारे सरकारको स्पष्ट दृष्टिकोण आएमा मात्र संसद्को अवरोध हटाउने अडान राखिरहेको छ ।

संविधान संशोधनको विधेयकमै दलहरु झगडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीविरुद्धको महाभियोग प्रस्ताव र निर्वाचनसँग सम्बन्धित विधेयकबारेको छलफल एक महिना अघिबाट ठप्प छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ