सहकारी ठगी मुद्दामा रविले दिए जिल्लाको फैसलाविरुद्ध उच्चमा निवेदन, सोमबार पेसी
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
878
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका हुन् ।
सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ । निवेदनको पहिलो पेसी आगामी सोमबार चैत ११ गतेका लागि तोकिएको छ ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसप्रति असहमति दर्ज गर्दै लामिछाने उच्च अदालत पाटन पुगेका हुन् ।
सो सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलाइएको छ ।
रवि लामिछानेले स्वर्णलक्ष्मीजस्तै अन्य तीन सहकारीमासमेत ठगी गरेको भन्दै २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् । पर्सा जिल्लामा रहेको सहकारीबारे भने अहिलेसम्म अदालतमा जानु परेको छैन ।