टीआरसी टुङ्ग्याउने कुरामा राजनीतिक दलहरूमा विवाद छैन - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १४ बिहिबार
875
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने कुरामा राजनीतिक दलहरुबीच विवाद नरहेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढङ्गले अघि बढेको बताए ।
उनले टीआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरूलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको जिकिर गरे । उनले राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा स्पष्ट रहेको बताए ।
प्रचण्डले भने, ‘नेपालको शान्ति प्रक्रिया केही मौलिक ढङ्गले अघि बढेको छ । अर्को यो टीआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरा मुख्यतः पीडितहरूलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा कहिल्यै विवाद भएन । मानिसहरूलाई लाग्छ, त्यस्तो होइन होला भनेर । तर हामी राजनीतिक नेतृत्व मूलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौँ । यो पनि हाम्रो मौलिकता र शान्ति प्रक्रियाको विशेषता हो । हामीले अघि बढाइरहेको यो प्रक्रिया धेरै हदसम्म आफ्नो विशेषता, आफ्नो मौलिकताअनुसार सफलताको साथ नै अघि बढेको महसुस गरेका छौँ । अध्ययन भ्रमणका सारसंक्षेपहरुलाई केन्द्रित गरेर नै हामीले नेपालको शान्ति प्रक्रिया अघि बढाउनुपर्छ भन्ने कुरामा केन्द्रित भयौँ । छौँ । अहिले पनि हामी राजनीतिक दलहरूको बिचमा विवादहरू छ । हामी प्रमुख दलहरु नै कोही सत्ता पक्ष र कोही प्रतिपक्षमा छौँ । विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ । थुप्रै कुरा छ । यी तमाम विवाद र विमतिको बिचमा पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने कुरामा इन्प्रिन्सिपल हामी कहिल्यै विवादमा भएनौँ । कहिले प्राविधिक, कहिले कानूनी, कहिले राजनीतिक उतार चढावहरूले यो देशमा हुन्छन्, डिले त भयो त्यस कारणले । तर यीसँग सम्बन्धित प्रिन्सिपलमा विवाद भएको हुनाले डिले भएको भन्न मिल्दैन, त्यो होइन ।’
प्रचण्डले विवाद र विमतिका बिचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरू लागिरहेको बताए ।