arrow

रविलाई काठमाडौँबाट रुपन्देही ल्याइयो, सोमबारसम्म हिरासतमै, कारागारमा छविसँगै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
ravi-arrest-81-12-22.jpg

भैरहवा । सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । शुक्रबार साँझ काठमाडौँमा पक्राउ परेका रविलाई शनिबार बिहान हवाई मार्ग हुँदै रुपन्देही ल्याइएको हो । 

शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले उनलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ । प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकोले सोमबारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् । 

‘दुइ दिन सार्बजनिक बिदा भएकाले सोमबारसम्म उहाँ प्रहरी हिरासतमा रहनु हुन्छ, बिदा खुल्ने बितिक्कै पहिला अदालत पेस गरेर मात्रै अनि कारागार पठाउने छौँ’ उनले भने ।

सहकारीको रकम अपचलनकै कसूरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं २ मा राखिएको छ । 

सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रविलाई पक्राउ गर्ने आदेश दिएको थियो । बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै शुक्रबार साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल लगिएको थियो । उनलाई पहिलो फ्लाइटबाटै रूपन्देही लगिएको हो ।

 शुक्रबार रातभर जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँको हिरासतमा रहेका लामिछानेलाई शनिबार बिहानै विमानस्थल लगिएको हो ।  

लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको थियो । 

उच्च अदालत तुलसीपुर, बुटबल इजलासका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएपछि पुनः पक्राउको आदेश दिइएको थियो ।

रविले गत सोमबार चैत १८ गते सभापतिको जिम्मेवारी लिएका थिए । जिम्मेवारी लिए लगत्तै उनले शीर्ष दलका नेताहरुलाई गाली गर्न थालेका थिए । 

उनले नेताहरुका फाइल खोल्ने धम्की दिँदै आफू नितान्त चोखो रहेको प्रमाण पेश गर्दै नेता कार्यकर्तालाई उरालेका थिए । 

उनले अहिलेको तन्त्रप्रतिसमेत असन्तुष्टि राखेका थिए । अहिलेको तन्त्रबाटै पार्टी गठन गरेर ०७९ को संसदीय निर्वाँचनमा भाग लिएर चौथो ठूलो दल भएको बिर्सेर रविले एकाएक शीर्ष दलहरुप्रति आक्रोश पोख्दै उनीहरुसँग बसेर फोटो खिच्ने रहर नभएको बताएका थिए । 

यसपालि रुपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उनलाई थुनामा पठाउने आदेश भएसँगै प्रहरीले शुक्रबार साँझै प्रक्राउ गरेको हो । 

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त मुद्दामा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा हुने आदेश दिएको थियो । तर सोही मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध उच्च अदालत गएपछि रविलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएको थियो । 

उक्त निवेदनपछि रविले पनि आफ्नोविरुद्ध धरौटीको आदेश बदर गरी साधारण तारेखमा राख्ने माग लिएर पुनरावेदन निवेदन दिएका थिए ।

रविलाई यसअघि चार ओटा सहकारी ठगीमा २ करोड ७९ लाख धरौती तिराएर साधारण तारेखमा छाडिएको थियो । 

रवि जेल गएसँगै रास्वपाभित्र फेरि विचलन आउने देखिएको छ । 

उनी यसअघि कार्तिक २ गते पक्राउ परेका थिए । गत कार्तिक २ गते काठमाडौँमा पक्राउ परेपछि उनी सांसदबाट निलम्बित भएका थिए । 

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि सङ्घीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो ।

कुर्सीमा रहन नपाएको साढे पाँच महिनापछि रवि गत १८ गते पुनः सभापतिको कुर्सीमा बसेका थिए । उच्च अदालतको आदेशपछि पक्राउ परेका रवि अब भने सहजै उम्किने अवस्था देखिँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ