काठमाडौं । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहकूलपति र कूलपतिको अधिकार उपकूलपति आफैंले प्रयोग गरेका छन् । प्रतिष्ठानबाट भर्खरै पदावधि सकिएर बाहिरिएका उपकूलपति प्रा.डा. बलभद्र प्रसाद दासले प्रतिष्ठानका सहकूलपति (स्वास्थ्य मन्त्री) र कूलपति (प्रधानमन्त्री) लाई थाहै नदिई उपकूलपतिको अधिकार रजिष्ट्रारलाई दिएका छन् ।
गत पुष २० बाट आफ्नो कार्यकाल सकिएका उपकूलपति डा. दासले कार्यकाल सकिनु एक साता अघि नै प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई विभिन्न अधिकार प्रत्यायोजन गरेका हुन् । पुष १३ गते दासले रजिष्ट्रारलाई पत्र लेख्दै दैनिक कार्य नियमित सञ्चालनका लागि असिमित अधिकारहरु प्रदान गरेका छन् ।
प्रतिष्ठानको पत्र संख्या २९१४-०७३/०७४ मा दासले रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई सम्पूर्ण आर्थिक कारोबार सहित उपकूलपतिले विगतमा गरेका सबै आर्थिक कारोबार स्विकृत गर्न र अन्य काम कारवाही समेत गर्न अधिकार प्रत्यायोजन गरेका छन् ।
विशेष स्रोतबाट प्राप्त पत्र अनुसार डा. दासले रजिष्ट्रारलाई रजिष्ट्रारको अधिकार सहित उपकूलपतिका सबै अधिकार दिएका छन् । दासले रजिष्ट्रारलाई कार्यकारीणी समितिबाट स्विकृत भएको, उपकूलपतिको हैसियतले विगतमा दासले स्विकृत गरेका प्रतिष्ठानका सबै क्षेत्रको बस्तु तथा सेवा खरिदको विल, रनिङ विल, फाइनल, धरौटी रिटेन्सन फिर्ता स्विकृत गरी भूक्तानी दिने, सार्वजनिक नियमावली २०६४ दफा ८४ अनुसारको लागत अनुमान सिलबन्दी बोलपत्र स्विकृत गर्ने अधिकार समेत प्रत्यायोजन गरेका छन् ।
यसका साथै दासले रजिष्ट्रारलाई पाँच लाखसम्मको खरिद सोझै गर्न पाउने अधिकार हुँदाहुँदै खरिद नियमावलीको नियम १४५ अन्तर्गत विषेश परिस्थितीमा गरिने सबै खरिदका धारा उपधाराहरु समेत प्रत्यायोजन गरेका छन् । दासले रजिष्ट्रार श्रेष्ठलाई दिएको पत्रमा ‘अस्पताल तथा शैक्षिक क्षेत्रमा खरिद नियमावलीको नियम ८५ (सोझै) र नियम १४५ अनुसार सबै धारा उपधारा उल्लेख भए बमोजिम प्रयोग गरि खरिद कार्य गर्ने । भुक्तानी दिने’ भनेर उल्लेख गरिएको छ ।
प्रतिठानको नियम अनुसार उपकूलपति पद रिक्त रहेको अवस्थामा प्रतिष्ठानका सहकूलपति (स्वास्थ्यमन्त्री) वा कूलपति (प्रधानमन्त्री) ले रेक्टर वा अन्य ब्यक्तिलाई कार्यवाहक उपकूलपति भनेर निश्चित अधिकार प्रत्यायोजन गर्नु पर्दछ । तर, दासले आफ्नो पदावधि सकिन एक हप्ता अघि नै रजिष्ट्रारलाई ब्यापक अधिकार प्रत्यायोजन गरेर प्रतिष्ठानमा चलखेल गर्न खोजेका छन् । उनले रजिष्ट्रारको अधिकारसँगै उपकूलपतिको अधिकार समेत दिएर रजिष्ट्रारलाई झन शक्तिशाली बनाएका छन् ।
‘उपकूलपतिले आफ्नो कार्यकालमा भएका गलत कामहरु पास गराउन रजिष्ट्रारलाई प्रयोग गरे ।’ प्रतिष्ठानका स्रोत भन्दछ । प्रतिष्ठान श्रोतका अनुसार कार्यकाल सकिनु अघि दासले आफुले गरेका टेण्डर, नियुक्ति, ठेक्कापट्टाका कामहरु स्विकृत गर्न र मोविलाईजेशन गर्न रजिष्ट्रारलाई अधिकार दिएका हुन् । ‘नियमानुसार सहकूलपति वा कूलपतिले रेक्टरलाई अस्खियारी दिने प्रचलन छ तर, दासले त्यसो नगरी आफ्नो मान्छेलाई अधिकार दिए ।’ प्रतिष्ठान स्रोत भन्दछ ।
दासले आफ्नो कार्यकालमा गरेका गलत कामको ढाकछोप गर्न रजिष्ट्रारलाई प्रयोग गरेका छन् । कार्यकाल सकिने बेलासम्म प्रतिष्ठानमा अनेकौं टेण्डर, कर्मचारी भर्ना तथा विभिन्न सामान खरिद गरेका उनले त्यस्ता कार्यबाट राम्रो कमिसन खाने गरेका छन् । प्रतिष्ठान स्रोतका अनुसार दासले सरसफाईको ठेक्का, एक्सरे, वेस मेनेजमेण्ट र निर्माण सम्बन्धि करोडौंका टेण्डरमा ब्यापारीबाट १० देखि १२ प्रतिशतसम्म कमिसन खाने गरेका छन् । प्रतिष्ठानका मेडिसिन विभागका पूर्व प्रमुख प्रा.डा प्रल्हाद कार्कीले उपकुलपतिले कार्यकारीणी अधिकार प्रत्यायोजन गर्ने प्रचलन नभएको बताए । विगतमा डा. रुपासिं भण्डारीलाई समेत सहकूलपतिले कार्यवाहक दिएको नजिर तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि रेक्टर डा. केदार बराललाई कार्यवाहक दिएकोले सोहि अनुसार हुनुपर्ने बताए ।
‘रजिष्ट्रारभन्दा त रेक्टरको पद ठूलो हो नी ! फेरी अरुबेला उपकूलपति विदामा बस्दा समेत रेक्टरलाई कार्यवाहक दिइएको छ ।’ उनले भने । प्रतिष्ठानका डा. विएन यादवले रजिष्ट्रारलाई अधिकार दिएको विषयमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतिलाई जानकारी दिएको भन्दै उप्रेतिले स्वास्थ्य मन्त्रीसँग छलफल गरेर अगाडी बढ्ने आश्वासन दिएको बताए ।
ब्याक डेटमा साइन गर्न कर्मचारीलाई दवाव
वीपी दासले कार्यकाल सकिने बेलामा गरेका धेरै टेण्डर र ठेक्का प्रक्रियामा सम्झौता र हस्ताक्षर गर्न बाँकी रहेको छ । अहिले आएर दासले ति सम्झौताहरुमा ब्याक डेट राखेर हस्ताक्षर गर्न प्रतिष्ठानका कर्मचारीहरुलाई दवाव दिन थालेका छन् । ‘उहाँले सम्झौता नभएका डकुमेण्टमा ब्याक डेट (कार्यकाल अवधि) राखेर ल्याउन दवाव दिइरहनु भएको छ ।’ एक कर्मचारीले नाम नलेख्ने शर्तमा भने ।
दासले कार्यकाल सकिनु एक महिना अघि मात्रै सरसफाईको टेण्डर गराए, उक्त टेण्डर प्रतिष्ठानको सुरक्षाको ठेक्का पाएको जिफोर एस कम्पनीलाई पारिदिए । करिब एक करोड ७८ लाखमा टेण्डर गरिएको ठेक्का उनको कार्यकालमा स्विकृत भएन, उक्त सम्झौता अहिले दासले ब्याक डेट राखेर हस्ताक्षर गर्न खोजिरहेछन् । अहिले पनि दासले प्रतिष्ठानका कतिपय कामहरु क्वाटरमा बसेर गरिरहेको प्रतिष्ठान स्रोतको दावि छ ।
यसै विच सरकारले विभिन्न स्वास्थ्य प्रतिष्ठानहरुमा रिक्त रहेको उपकूलपति नियुक्तिका लागि गृहकार्य शुरु गरेको छ । सरकारले पाटन स्वास्थ्य विज्ञान प्रपतष्ठान, कर्णाली, पोखराको उपकूलपति पदका लागि खुला दरखास्त आब्हान गरिसकेको छ भने, वीपी प्रतिष्ठानका लागि समेत खुला दरखास्त आब्हान गर्ने तयारी गरेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार चारओटै प्रतिष्ठानका लागि एकै पटक उपकूलपति नियुक्त गरिने छ ।