इलाम । भारतसँगको सिमाना छुट्याउन इलाम र पाँचथरमा रहेका सीमास्तम्भहरू मर्मतसम्भार र पुनःनिर्माण गर्ने भनिएको पाँच वर्ष बितिसक्दा पनि अझै सो कार्य सुरु हुन सकेको छैन । इलामको पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालयले पाँचथरको सिदिनदेखि इलामको जिर्मलेसम्मका सीमास्तम्भको २०६७ सालमै स्थलगत निरीक्षण गरी हराएका, भत्किएका र टुटफुट भएका सीमास्तम्भको विवरण गृहमन्त्रालयलगायत माथिल्लो निकायमा बुझाए पनि अझैसम्म पुनःनिर्माण भएको छैन ।
सीमा प्रशासन प्रमुख यज्ञप्रसाद निरौलाले पाँचवटा सीमास्तम्भ हराएका, पाँचवटा भत्किएका, दुईवटा पूर्ण क्षति भएकाले तिनीहरूको तत्काल पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदनसहित सुझाव माथिल्लो निकायमा दिए पनि पहल नभएको बताए । नेपालतर्फ नम्बर मेटिएका पाँच सीमास्तम्भमा पुनः नम्बर राख्न सुझाउँदै प्रतिवेदन बुझाइएको भए पनि पाँच वर्ष बित्दासमेत सुनुवाइ नभएको निरौला बताउँछन् । प्रतिवेदन कार्यान्वयनका लागि माथिल्लोस्तरबाटै निर्णय भएर कार्यक्रम आउनुपर्ने उनको भनाइ छ ।
सीमा प्रशासनले तयार पारेको प्रतिवेदनमा पाँचथर सिदिनदेखि इलामको जिर्मलेसम्मकै मुख्य तथा सहायक सीमास्तम्भको अहिलेको अवस्थाका बारेमा उल्लेख गरिएको छ । २०५८ सालताका हराएका ७१÷२१, ७१÷२२ र ७१÷२३ नंका सहायक स्तम्भ नभेटिएको र पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
पशुपतिनगर–श्रीअन्तुबीचको दीपकमल सामुदायिक वनभित्रका ७२÷३ र ७२÷४ नंका सहायक स्तम्भ पनि नभेटिएको सो प्रतिवेदनमा जनाइएको छ । गोर्खे–४ को मच्र्याङस्थित सीमा क्षेत्रको १९÷२ नंको मुख्य स्तम्भ भत्किएको छ । श्रीअन्तु–८ मा ७२÷७ नंको सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने अवस्थामा छ ।
टुटफुट भएर सग्ला नरहेका स्तम्भ पनि निकै वटा छन् । एकपल्ट गाडेपछि नियमित निरीक्षण र अनुगमन नहुँदा जीर्ण बन्दै गएका स्तम्भ कस्तासम्म भेटिएका छन् भने पाँचवटामा नेपालतर्फ नम्बरै देखिँदैनन् । हरेक स्तम्भका नम्बर दुई देशको नापी विभाग कार्यालयको अभिलेखमा राखिने र त्यो अभिलेख स्तम्भमा पनि रहिरहनुपर्ने प्रावधान भए पनि त्यो कार्यान्वयन भएको छैन ।
सीमा प्रशासनका अनुसार गोर्खे–४ लामीधुराको १९÷१ नं स्तम्भको नम्बर मेटिएको छ । पशुपतिनगर–५ पुलखोलाका दुईवटा स्तम्भमा नम्बर देखिँदैन । श्रीअन्तु–७ र ८ का एक÷एक स्तम्भमा पनि नम्बर मेटिएको छ । गतवर्ष इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक ईश्वर थापाको अगुवाइमा सीमा क्षेत्रका स्तम्भको खोजी, रङरोगन र सरसफाइ गरिएको थियो । दुई देशबीचका अधिकारीसहितको टोलीले सीमास्तम्भलाई रङरोगन गर्ने कार्य, सीमास्तम्भ वरिपरि सरसफाइलगायतका काम गरेको थियो ।