arrow

प्रचण्डको कुण्ठा

सरकारमा होइन, अब नयाँ आन्दोलनमा जाने हो - प्रचण्ड [भिडियो]

हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो माओवादी भनेर आरोपित गर्न खोजियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
prachanda-18.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको बताएका छन् । १ सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै  प्रचण्डले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए । 

उनले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । प्रचण्डले आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे । उनले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने बताउँदै एकताको बलमा पार्टीलाई नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको धारणा राखे । 

उनले भने, “हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुचि छैन । हामी जनतासँगै ठिक छौँ । हामी हाम्रो वर्गसँगै ठिक छौँ । तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला, विभिन्न खालका मिडियामा आउने समाचारबाट गम्भीर नहुनु होला । हामी आन्दोलनद्वारा फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा यी तमाम समस्याहरूको समाधान गर्नतिर हामी अग्रसर छौँ । मैले तपाईँहरूलाई गम्भीर पूर्वक अपिल गर्न चाहन्छु, तपाईँहरू अगाडी आउँदा यो देशले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित तपाईँ हामीले अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिनेछ । म विश्वास दिलाउन चाहन्छु, हाम्रो एकताको बलमा र हामीले अहिले पार्टीलाई नयाँ ठाउँमा लैजान जुन जमर्को लिडरसिपको लेभलबाट गरेका छौँ, त्यसलाई तलसम्म पुर्‍याउन सकियो भने संविधान संशोधन पनि हामीले भनेअनुसार गर्न सकिन्छ ।”    

प्रचण्डले माओवादी केन्द्रलाई कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भन्दै आरोपित र अपमानित गर्न खोजिएको बताए । उनले माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर गरे । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दा समेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गरे । उनले नयाँ आन्दोलन, नयाँ अभियान र नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको दोहोर्‍याउँदै आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
 
प्रचण्डले भने, “हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो माओवादी भनेर आरोपित गर्न खोजियो । हामीलाई अपमानित गर्न खोजियो । तर, तपाईँ हामीले देख्यौँ, जब हाम्रो पार्टीले अब कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने, एक्लै अगाडी बढ्ने भन्यौँ, उपनिर्वाचनमा तपाईँहरूले देख्नुभयो, हामी देशकै एक नम्बर पार्टी बन्यौँ । काँग्रेस र एमाले मिल्दा पनि हामीले स्ववियु निर्वाचनमा धेरै ठाउँमा जितेका छौँ र ऐतिहासिक रेकर्डहरू बनेका छन् । मलाई विश्वास छ, हामीले त्यो आत्मविश्वासका साथ काम गर्‍यौँ भने छिटै हामी फेरी अहिले देखा परेका तमाम समस्याहरू समाधान गर्न सकिन्छ । तपाईँहरू विचार गर्नुहोला, समय छिटै नै आउँदै छ, एउटा नयाँ आन्दोलनको, नयाँ अभियानको, नयाँ क्रान्तिको.. त्यसको नेतृत्व गर्न पार्टी तयार छ । तपाईँहरू पनि आन्दोलनका लागि तयार रहनुस् ।”   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ