काठमाडौँ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ गरेको छ । प्रहरीले करिब ४ करोड ५० लाख बराबरको अवैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिकलाई शनिबार बिहान पक्राउ गरेको हो । उनिहरु स्कारपियो गाडीबाट ठमेल हुदै नागढुङ्गा जादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई महिला र एक पुरुष चिनियाँ रहेको प्रहरीले जनाएको छ ।
महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालका अनुसार उनीहरुको साथबाट २ लाख ६० हजार अमेरिकी डलर, १ लाख १८ हजार युरो, केही मात्रामा अस्ट्रेलियन डलर, स्विस डलर र जापानी ऐनसमेत बरामद गरेको छ ।
खनालले भने , “विदेशी रकमको अवैध कारोबार भइरहेको सूचनाको आधारमा हामीले उनीहरुलाई ठमेलबाट निगरानी गरेका थियौँ, नागढुङ्गा पुगेपछि राति साढे दुई बजे पक्राउ गर्यौँ ।” सो रकम रसुवा नाका हुँदै चीन लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले झोला र सुटकेसमा ‘फल्स बटम’ बनाई सो रकम लैजान लागेका थिए । प्रहरीका अनुसार यति ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ परेको सम्भवतः यो नै पहिलो घटना हो ।