काठमाडौं । न्यू होराइजन क्रिकेट क्लव राजधानीमा जारी दोस्रो रुस्लान कप टी–२० क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा कुलेश्वर क्रिकेट क्लवलाई ११३ रनले पराजित गर्दै न्यू होराइजन अन्तिम आठमा पुगेको हो ।
खेलमा पहिले ब्याटिङ गर्ने क्रममा निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १९९ रन बनायो । शंकर रानाले ४ छक्का र १४ चौकाको मद्धतले ७१ बलमा अविजित रहँदै ११५ रन बनाए । त्यस्तै निर्मल थापाले ३९ रन जोडे ।
जवाफमा कुलेश्वरले ९ विकेट गुमाउँदै ८६ रन मात्र जोड्यो । २४ रन बनाएका रमेश क्षेत्रीलेमात्र दोहोरो अंक जोड्न सके । विशाल सुनारले १ ओभरमा २ रन खर्चेर ३ विकेट लिए ।
शनिबारै भएको अर्को खेलमा सुदूरपश्चिम एकेडेमी एसपीए विजयी भएको छ । एसपीएले वीरगन्जको अनुभूति एजुकेशन फाउन्डेसनलाई ५ विकेटले हराएको हो ।
१६ टोली सहभागी प्रतियोगितामा उपाधिका दावेदार क्लवहरु त्रिभुवन आर्मी र नेपाल पुलिसले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।