स्टाडियो । स्पेनिश लिग ला लिगा फुटबल टिम रियाल मड्रिडको ४० खेल अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिगको खेलमा सेभियासंग उसकै मैदान स्टाडियो आर सान्चेज पिजुवाँमा २–१ को नाटकीय हार बेहोरेसंगै रियाल मड्रिडले ४१ औं जितको कीर्तिमानलाई आफैले समाप्त गरेको हो ।
खेलको ६७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदूपयोग गर्दै लिग लिडर रियालले १–० ले अग्रता लियो । क्रिष्टियानो रोनाल्डोले गोल गरे ।
८५ औं मिनेटमा सर्जियो रामोसले आत्मघाती गोल गर्दा खेल बराबरीमा आयो । तर खेलको अन्तिम घडीमा स्टेभान जोभेटिकले गोल गर्दै सेभियालाई अप्रत्याशित जित दिलाए ।
यो खेलको परिणामले भने रियाल प्रशिक्षक जिनेदिन जिदान मर्माहित भएका छन् । टिमले नसोचेको परिणाम निकालेको उनको प्रतिक्रिया छ ।
स्पेनिश क्लव बार्सिलोनाको ३९ खेलको अपराजित यात्रालाई तोड्दै गत हप्तामात्र रियाल मड्रिडले ४० खेलको कीर्तिमान रचेको थियो ।
यो हारले पनि रियाल लिग तालिकाको शीर्ष स्थानमा कायमै छ । १७ खेलबाट रियालको ४० अंक छ भने एक खेल बढी खेलेको सेभिया ३९ अंकसहित दोस्रो तथा १८ खेलबाटै बार्सिलोना ३८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।