आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ - लिङ्देन [भिडियो]
यदि यो देश बिग्रियो भने तपाईं युवाको भविष्य बिग्रिन्छ, गणतन्त्र 'पलभरमै' ढाल्न सकिन्छ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
650
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान गणतान्त्रिक व्यवस्थाविरुद्धको आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन अहिंसात्मक आन्दोलनबाट अन्त्य भएको उदाहरण दिँदै नेपालमा पनि जनताले शान्तिपूर्ण तर व्यापक आन्दोलन गरेमा यो व्यवस्था पलभरमै ढाल्न सकिने दाबी गरे।
उनले सत्तामा रहेका केही व्यक्तिहरूले आफ्नो व्यक्तिगत फाइदाका लागि देशको आर्थिक, सामाजिक र शान्तिसुरक्षाको अवस्थालाई नाजुक बनाएको आरोप लगाए।
लिङ्देनले भने, "हामी शान्तिपूर्ण आन्दोलनको पक्षमा छौँ। अहिंसात्मक आन्दोलनको पक्षमा छौँ, सत्याग्रहको पक्षमा छौँ। भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन अहिंसाकै बाटोबाट अन्त्य भएको थियो। यो नाथे गणतन्त्र दुई वर्ष पुगेको छैन। शान्तिपूर्ण ढङ्गले हामी लाखौँ जनता सडकमा आयौँ भने क्षणभरमै समाप्त हुन्छ। हाम्रो यो आन्दोलन व्यवस्था परिवर्तनको लागि हो। र त्यो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुन्छ। र हामीले अहिंसात्मक बाटाबाटै परिवर्तन खोजेका छौँ।"
अध्यक्ष लिङ्देनले देश लुटेर बसेका केही मान्छेहरू बाहेक सबैको मनमा देशको अवस्था ठिक नभएको रहेको टिप्पणी गरे। उनले देश बिग्रिएमा नेताहरूको केही नबिग्रिने तर युवाहरूको भविष्य बर्बाद हुने बताए। देशको भविष्यसँग आजका युवाहरूको भविष्य जोडिएको उल्लेख गर्दै लिङ्देनले देश बिग्रिन लागेको जानकारी गराउन युवाहरूलाई आमन्त्रण गरिएको बताए।
"यो देश बिग्रियो भने केपी ओलीको के बिग्रिन्छ? शेरबहादुर देउवाको के बिग्रिन्छ होला? प्रचण्डको के बिग्रिन्छ होला? यदि यो देश बिग्रियो भने तपाईं युवाको भविष्य बिग्रिन्छ," उनले भने, "यो देशको भविष्यसँग आजका युवाको भविष्य गासिएको छ। त्यसकारण देश बर्बाद हुन लागेको, देश बिग्रन लागेको र यो देशसँगै तपाईंको भविष्य पनि बिग्रिन लागेको कुरा तपाईं युवालाई जानकारी गराउन र युवालाई आफ्ना कुरा राख्नको लागि आमन्त्रण गरेका छौँ। फेरि पनि भन्छु–यो देश बिग्रियो भने नेताहरूको केही बिग्रिँदैन, तपाईंहरूको भविष्य बिग्रिनेवाला छ।"
राष्ट्रिय प्रजातन्त्र पार्टीले मङ्गलबार (जेठ १३ गते) देखि संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको माग राख्दै अनिश्चितकालीन आन्दोलन गर्ने जनाएको छ।