arrow

नेपालमा वंशवादमा आधारित निरङ्कुश राजतन्त्र सम्भव छैन: अध्यक्ष दाहाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
prachanda-gorkha.jpg

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र अब असम्भव रहेको बताएका छन् ।​

गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको मंगलबार उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औं शताब्दीको युगमा निरंकुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए । 

नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । 

‘राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिंगारपटार गरेर अगाडि ल्याउन खोजिएको छ’, उनले भने, ‘यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ ।’

अध्यक्ष दाहालले जनतामा नैराश्यता बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार आएको उल्लेख गर्दै यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिए । 

शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको निम्ति कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उनले शान्तिलाई दिगो बनाउनका लागि दुई दल मिलेर जानुको विकल्प नभएको उल्लेख गरे ।

‘राजनीति र अरु कुरामा आफ्ना-आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन’, अध्यक्ष दाहालको भनाइ थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ