तुलसीपुर । दाङको तुलसीपुर बजारभित्र रहेको सिद्ध रत्ननाथ मन्दिरको ठूलो हिस्सा जग्गा अतिक्रमणमा परेको छ। तुलसी बोर्डिङ चोकदेखि पूर्वतिर रहेका चार/पाँच तलाका अग्ला घरहरू आफ्नै जग्गामा बनेका जस्तो देखिए पनि ती वास्तवमा मन्दिरको नाममा रहेको गुठी जग्गामा ठडिएका हुन्।
तुलसीपुर उपमहानगरपालिका–५ मा अवस्थित सिद्ध रत्ननाथ मन्दिरको कुल १० कठ्ठा जग्गा भए पनि मन्दिरले अहिले ३ कठ्ठा मात्रै भोगचलन गर्न पाएको छ। बाँकी सात कठ्ठा जग्गामा अनधिकृत रूपमा घरहरू निर्माण भएका छन्। मन्दिरका संरक्षक तेजनाथ योगीका अनुसार, ती ठूला घरहरू हटाउन नसकिएको र जग्गाको अभावले गर्दा मन्दिरलाई समस्या भएको छ। "हाम्रो जग्गा फिर्ता ल्याउन कुनै पनि निकायले पहल गरेको छैन," उनले गुनासो गरे।
योगीले बताएअनुसार, पहिलाको मन्दिर तुलसी बोर्डिङ चोक नजिकै थियो र पछि सारियो, जसले गर्दा अहिलेको क्षेत्र अतिक्रमणको सिकार भएको हो। यस क्षेत्रमा करिब १५ देखि २० वटा घरहरू मन्दिरको जग्गामा बनेका छन्।
मन्दिरका संरक्षक योगीले मन्दिरको जग्गामा बनेका घरहरूबाट जग्गाबापतको भाडा लिने वा एउटा/एउटा सटर दिए पनि मन्दिरलाई सहज हुने तर्क राखेका छन्। यसका लागि सम्बन्धित निकायमा पहल गर्ने सोच बनाइएको उनले जानकारी दिए।
मन्दिरको जग्गा सार्वजनिक भएकाले यसलाई फिर्ता ल्याउन सरकारले सहयोग गर्नुपर्ने माग संरक्षक योगीले राखेका छन्। बजार विस्तारका क्रममा अतिक्रमण गरी बनेका ती घरहरूमा अहिले ठूला–ठूला व्यवसायहरू सञ्चालित छन्। विभिन्न सरकारी तथा गुठीको जग्गा अतिक्रमणमा पर्ने क्रममा तुलसीपुरको यो ऐतिहासिक मन्दिरको जग्गा पनि यसरी मिचिएको हो।