सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ - लिङ्देन [भिडियो]
प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहन आग्रह गर्दै आन्दोलनलाई हिंसात्मक बनाउन सरकार वा सरकारबाट सञ्चालित संयन्त्रहरू क्रियाशील हुनसक्ने भन्दै कार्यकर्ताहरूलाई सजग रहन निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
633
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनका लागि कम्तिमा एक हप्ता काठमाडौंमै बसेर तयारी गर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्। उनले सरकारले दमन गरेर आन्दोलनलाई रोक्न खोजेमा प्रतिकार गरिने चेतावनी दिए। "सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर बस्दैनौँ," उनले भने। जेठ १५ को आन्दोलनलाई 'मुल आन्दोलन' को संज्ञा दिँदै उनले कम्तिमा एक हप्ता काठमाडौंमा बस्ने सोचका साथ तयारी गर्न आग्रह गरे।
लिङ्देनले भने, "हामीले पहिला पहिला गरेका आन्दोलनहरू मुल आन्दोलनको बाटो निर्माणका लागि गरेको आन्दोलन थियो। भोलिको आन्दोलन मुल आन्दोलन हो। भोलि शुरु मात्रै हो। हाम्रो आन्दोलन निरन्तर रुपमा रहन्छ। बाहिरबाट आउनुभएका साथीहरुलाई भोलि बेलुका फर्किने गरी पहिलाको जस्तो बसको, प्लेनको टिकटको व्यवस्था नगर्नुहोला। कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारीका साथ यहाँ रहनु होला। बस्ने क्रममा कुनै प्रकारका असुविधा नहोस् भन्नेमा हामी सचेत छौँ।"
अध्यक्ष लिङ्देनले जेठ १५ गतेको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताएका छन्। उनले प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहन आग्रह गर्दै आन्दोलनलाई हिंसात्मक बनाउन सरकार वा सरकारबाट सञ्चालित संयन्त्रहरू क्रियाशील हुनसक्ने भन्दै कार्यकर्ताहरूलाई सजग रहन निर्देशन दिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो लागेको टिप्पणी गरे।