यार्सागुम्बा सङ्कलनका लागि हिमालतर्फ स्थानीय, पश्चिमी नेपालका गाउँबस्ती सुनसान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
588
Shares
मुगु । देशको पश्चिम-उत्तरका उच्च हिमाली क्षेत्रका गाउँबस्तीहरू यतिबेला सुनसान देखिएका छन्। हिउँ पग्लिएर खाली भएका नागी पाटनहरूमा यार्सागुम्बा टिप्न गाउँका सबै मानिसहरू गएपछि गाउँ रित्तो भएको हो। हाल गाउँमा अशक्त, सुत्केरी, बालबालिका र वृद्धवृद्धाहरू मात्रै भेटिने गरेका छन्। मुगुको मुगुम कर्मारोङ गाउँमा पुग्दा यस्तै दृश्य देखिएको थियो।
पश्चिम-उत्तरका हिमाली तथा उच्च पहाडी जिल्लाका स्थानीयहरू जेठको दोस्रो सातादेखि एक महिनासम्म उच्च हिमाली क्षेत्रमा 'किरा कोर्न' (यार्सागुम्बा टिप्न) जाने गर्दछन्। यार्सागुम्बाको बिक्री यस क्षेत्रमा मुख्य आयआर्जनको स्रोत भएकाले सिजनमा सबै यार्सा टिप्न जान्छन्, जसले गर्दा लगभग एक महिनासम्म गाउँ नै सुनसान हुने गर्छ।
मुगु कार्मारोङ गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा तथा मांग्रीमा सामाजिक परिचालकका रूपमा काम गर्दै आउनुभएका ठिल्ले लामाले गाउँमा साना नानी भएका महिला, बालबालिका र वृद्धवृद्धाहरू मात्रै रहेको बताए। उनी भन्छन्, "यहाँको मुख्य आम्दानी भनेको यार्सागुम्बा हो। १०/१२ वर्षदेखि ५०/६० वर्षसम्मका मानिसहरू हिँडिसके यार्सा टिप्नका लागि। ठ्याक्कै एक महिना गाउँ सुनसान हुन्छ। असार १३ गतेपछि गाउँ फर्किन्छन्।"
यस सिजनमा विद्यालयहरू बन्द भएका छन्, र शैक्षिक क्रियाकलापमा अझै पनि कसैले चासो दिएको नदेखिएको लामाले बताए। विद्यार्थी कम भर्ना हुने र भर्ना भइहाले पनि पछि निकालेर लैजाने समस्या पनि रहेको उनले औंल्याए। खानेपानीको समस्या पनि गाउँमा विद्यमान रहेको छ।
साना बच्चा भएका स्वास्थ्यकर्मी नुर्बूछिरिङ लामा पनि गाउँमै भेटिए। उनी भन्छन्, "पुरुषहरू त सबै गए। अहिले गाउँमा सानो सानो बच्चाको आमाहरू होलान्, कर्मचारीहरू होलान्। गाउँका आधाजसो घरमा ताल्चा लागेको छ। परिवारै यार्सागुम्बा टिप्न गएका छन्। आयआर्जनको स्रोत यार्सागुम्बा र ज्यालामजदुरी हो।"
मांग्रीको छिमेकी गाउँ छायलाका स्थानीय पनि यार्सा टिप्न गएका छन्। गाउँमा महिला र साना बालबालिका मात्रै छन्। एकाध विद्यालय सञ्चालनमा रहे पनि विद्यार्थी भेटिँदैनन्, सञ्चालनमा रहेका विद्यालयमा पनि ९ वर्ष मुनिका बालबालिकाहरू मात्रै आउने गरेको पाइन्छ।
यार्सागुम्बा नेपालको हिमाली क्षेत्रमा पाइने ढुसीको एक प्रजाति हो, जसलाई बहुमूल्य जडिबुटीका रूपमा प्रयोग गरिन्छ। यसको निर्यातबाट नेपालले ठूलो आम्दानी गर्दछ। सिजनमा ९ वर्षभन्दा माथि ६० वर्ष उमेरसम्मका मानिसहरू यार्सा टिप्न जाने गर्दछन्। यस वर्ष जेठ १३ गतेदेखि यार्सागुम्बा टिप्न खुला गरिएको थियो। त्यसैले, जेठ १२ गतेदेखि नै मुगु, हुम्ला, जुम्ला, डोल्पा लगायतका अधिकांश विद्यालय बन्द छन् भने गाउँहरू पनि सुनसान हुन थालेका छन्।
औषधिजन्य गुणयुक्त यार्सागुम्बा आपूर्ति गर्नेमा चीनपछि नेपाल दोस्रो मुलुक हो, र यसको प्रमुख बजार चीन हो। यकिन तथ्याङ्क नभए पनि पूर्वी नेपालको अलैँचीसरह नै पश्चिम नेपालको हिमाली क्षेत्रबाट यार्सागुम्बा निर्यात हुने गरेको पाइन्छ।
नेपाल राष्ट्र बैंकले २०७२ मा गरेको अध्ययनले पनि हिमाली र उच्च पहाडी जिल्लाका बासिन्दाको सामाजिक आर्थिक क्रियाकलाप अभिवृद्धिसँगै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान हुन यार्सागुम्बाले सहयोग गरेको उल्लेख छ। सो अध्ययनले आर्थिक वर्ष २०७०/२०७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्सागुम्बा सङ्कलन गरिएको अनुमान गरेको थियो। यार्सागुम्बा सङ्कलनका लागि मुख्य केन्द्रका रूपमा रहेका दार्चुला, डोल्पा, जुम्ला, बझाङ र मनाङमा अध्ययन केन्द्रित थियो।