माओवादी केन्द्रमा जसपा कर्णालीका नेता कार्यकर्ता प्रवेश, प्रचण्ड भन्छन्: 'समाजवादी क्रान्ति नयाँ चरणमा'
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
590
Shares
काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। यो पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले व्यक्त गरेका छन्।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउने नयाँ सदस्यहरूलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता व्यक्त गरे।
प्रचण्डले पार्टीले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजानका लागि विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुन: जोडिने अभियान सञ्चालन गरिरहेको बताए। उनले माओवादी केन्द्र अहिले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै भने, "समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुन: जोडिने अभियान सञ्चालन गरिरहेको छ। यो अभियानमा जोडिन म सबैलाई आग्रह पनि गर्दछु।"