भिजिट भिसा प्रकरण छानविन गर्न सत्तापक्ष तयार छ - प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
585
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको अध्ययन र छानविन गर्न सत्तापक्ष तयार रहेको बताएका छन्। बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणको छानविनका लागि सत्तापक्षबाट प्रतिवद्धता आएपछि प्रतिपक्षी दलहरूबीच समेत सकारात्मक वातावरण बनेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तापक्षसँग थप छलफल चाहेको पनि उनको भनाइ छ।
"एउटा गृहमन्त्रीको कुरा मात्रै होइन," अध्यक्ष दाहालले भने, "यो विगतदेखि नै अध्यागमनको समस्या अलिक बिकराल नै देखिएको छ। यो समस्यालाई सत्तापक्ष र प्रतिपक्षी सबैले गम्भीरताका साथ लिनुपर्यो भन्ने कुरामा हामी सबैले कुरा गरेपछि सत्तापक्षले अध्ययन र छानविन गर्ने प्रतिवद्धता तथा संरचना बनाएर ठोस रुपमा पहल लिने भन्ने प्रतिवद्धता आएपछि प्रतिपक्षको बीचमा अत्यन्त सकारात्मक वातावरण बनेको छ।"
उनले थपे, "तर केही साथीहरू अझै हामी सत्तापक्षका साथीहरूसँग कुरा गर्छौं र सदन सुरु गरौँ भन्ने छ। रास्वपाले छलफल चाहेको छ।"
अध्यागमन कार्यालयमा लामो समयदेखि समस्या रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यो समस्या समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै गम्भीर हुन जरुरी रहेको बताए।