गृहमन्त्रीमाथि आरोप नलागेकाले राजीनामा आवश्यक छैन - कांग्रेस सांसद जबरा
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
902
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद उदयसमशेर जबराले गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप नलागेकाले राजीनामा दिइरहनु नपर्ने बताएका छन्।
सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद जबराले अध्यागमन र भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छ वा छैन भन्ने विषय अख्तियारले छानबिन गरी स्पष्ट पार्ने बताए। उनले मुख्य आरोपित गृहमन्त्री नभई सहसचिव भएकाले राजीनामा दिन आवश्यक नरहेको धारणा राखेका छन्।
सांसद जबराले भने, "छानबिन अख्तियारले सुरु गर्नुपर्छ। मुख्य आरोपित गृहमन्त्री होइन, सहसचिव हो। सहसचिव गृह मन्त्रालयअन्तर्गत भएको कारणले उहाँको नाम पनि जोडिएको छ। तर जोडिएको छ कि छैन भनेर पुष्टि नभईकन गृहमन्त्रीको राजीनामा माग्न उपयुक्त हुँदैन। केही गरी सहसचिवको सट्टा गृहमन्त्री नै आरोपित भएको भए गृहमन्त्रीले दिनुपर्थ्यो।"
सांसद जबराले अख्तियारले गृहमन्त्रीलाई आरोपित गरेको खण्डमा गृहमन्त्रीको राजीनामा माग्ने पहिलो सांसद आफू हुने पनि बताए।