आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस: नेपालमा न्यायको अपेक्षा
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
554
Shares
काठमाडौं । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यो दिवस यौन हिंसा पीडितका लागि न्याय र पीडकका लागि जवाफदेहिताको माग गर्दै हरेक वर्ष जुन १९ तारिखमा मनाउने गरिन्छ। द्वन्द्वको समयमा हुने यौन हिंसालाई अन्त्य गर्न, पीडितको न्याय सुनिश्चित गर्न र यस्ता अपराध गर्नेलाई दण्डित गर्ने उद्देश्यसहित यस दिवसको पालना गरिन्छ।
यस दिवसले राज्य, समाज र अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्वकालीन यौन हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र आफ्नो जिम्मेवारी सम्झनका लागि प्रेरित गर्दछ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१५ जुन १९ देखि यस दिवसलाई मनाउने घोषणा गरेको हो। संयुक्त राष्ट्र सङ्घका अनुसार, द्वन्द्व–सम्बन्धित यौन हिंसाको अन्त्य गर्ने आवश्यकताका बारेमा जनचेतना जगाउन तथा विश्वभर यौन हिंसाका पीडित र बाँचेकाहरूलाई सम्मान गर्न यस दिवसले महत्त्वपूर्ण सहयोग पुर्याउँछ।
द्वन्द्व–सम्बन्धित यौन हिंसा भन्नाले युद्ध वा द्वन्द्वसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने महिला वा पुरुषमाथि गरिएको बलात्कार, यौन दासत्व, जबर्जस्ती गर्भधारण, गर्भपतन, विवाह र यस्तै गम्भीर प्रकृतिका कुनै पनि यौन हिंसालाई बुझाउँछ। यसले यौनशोषण वा हिंसाको उद्देश्यले द्वन्द्वको समयमा गरिने मानव बेचबिखनलाई पनि समेट्छ।
द्वन्द्वसम्बन्धी यौन हिंसाले पीडितलाई शारीरिक र मनोवैज्ञानिक रूपमा गहिरो आघात पुर्याउँछ र यसको असर परिवार र समुदायलाई समेत पुस्तौँसम्म परिरहन्छ। नेपालमा २०६३ सालमा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको यतिका वर्ष बितिसक्दा पनि द्वन्द्वसँग सम्बन्धित यौन हिंसाका पीडितको न्यायिक माग अझै पनि सम्बोधन हुन नसकेको राष्ट्रिय मानवअधिकार आयोगले जनाउँदै आएको छ।
सत्यनिरुपण तथा मेलमिलाप आयोगका अनुसार, सशस्त्र द्वन्द्वकालमा घटित मानव अधिकारका गम्भीर उल्लङ्घन तथा मानवताविरुद्धका घटनाहरूसँग सम्बन्धित विभिन्न प्रकृतिका गरी जम्मा ६३ हजार ७१८ वटा उजुरी आयोगमा दर्ता भएका छन्। तीमध्ये बलात्कार तथा यौनजन्य हिंसा विषयमा ३१४ वटा उजुरी परेका छन्।
अधिकारकर्मीहरूले द्वन्द्वसम्बन्धित यौन हिंसाका धेरै घटना डर, लाज र अपर्याप्त सेवाका कारणले दर्ता नभएको बताउँदै आएका छन्। यस दिवसले सबै पीडितका लागि न्यायको समर्थन गर्दै दण्डहीनताको अन्त्यका लागि जोड दिन्छ। अधिकारकर्मीहरूले पीडितहरूले प्राप्त गर्नुपर्ने आत्मसम्मानसहितको सत्य, न्याय र परिपूरणमा ढिलाइ नगर्न सरकारलाई दबाब दिँदै आएका छन्।
यस दिवसले द्वन्द्वमा यौन हिंसा अन्त्यका लागि विश्वव्यापी रूपमा थप सशक्त प्रयासहरूको आवश्यकतालाई पुनरावृत्ति गरेको छ।