हरेक दिन हजारौँको संख्यामा युवा जनशक्ति विदेश निर्यात गरिरहेको देश कहिल्यै पछुताएन । केही युवा पुस्ता बाहेक बहुसंख्यक खाडीको मरुभूमिमा भेँडा र उँटका लागि पानी खोज्दै र चरनका लागि हरियो चौर खोज्दैछन् भने केही निर्माण क्षेत्रमा तातो बाफ सहन नसकी धेरै अलप भैरहेका छन् ।
हामी जनता नामका प्राणीलाई सोझा र मन्द बुद्धि भएका मानिसमात्र बस्ने देशका रूपमा विश्वका विकसित तथा मानव अधिकारको सम्मान गर्ने धेरै देशहरुले हामीलाई मन्द बुद्धि भएका मानिस बस्ने गज्जबको देशको रुपमा परिचय दिएका छन् ।
तिनले दिएको ट्याग मिल्ने गरी हाम्रो व्यवहारले प्रमाणित गरिरहेका छौँ । हामी सार्वजनिक स्थानमा जाँदा लाजै नमानी जथाभावी थुक्छौँ । त्यसलेमात्र पुगेन भनेर सार्वजनिक यातायातमा झ्याल खोलेर गर्वका साथ थुक्छौँ । फोहर फाल्छौँ ।
त्यसलाई कुनै पर्वाह गर्दैनौँ र कसैले विरोध गरेमा तेरो घरमा थुकेको हो र भन्दै पाखुरा देखाउँछौँ । यस्तैलाई होला मन्द बुद्धि भएको भन्ने । सार्वजनिक क्षेत्र, बाटोमा जथाभावी फोहर फालेर बेपर्वाह गर्छौं । यस्तालाई मन्द बुद्धि भएको नभने कसलाई भन्ने ?
देशमा राजनीति गर्ने मन्द बुद्धिहरुले हामी जनता नामका प्राणीलाई सजिलै मन्द बुद्धिमा जीउन बाध्य बनाइदिए । पहिला भन्थे ठोक्न पर्छ । दुःख गरेर ३० मुरी भन्दा बढी धान उत्पादन गर्ने भनेका सामन्त हुन् र तिनलाई ठीक गरेपछि साम्यवाद आउँछ भन्थे ।
हामीलाई हो जस्तै लाग्थ्यो । त्यो वाद आयो भने सबै परिश्रम गर्नेहरुका लागि सुनौलो व्यवस्था हुनेछ भनेर पत्याइयो । त्यसपछि पनि यसले भनेको ठीक हो कि त्यसले भनेको ठीक हो भनेर धेरै नियाल्यौँ तर नेपाल भनेको भगवान् प्रत्यक्ष खेलेको भूमिमा अनैतिक, आपराधिक, अप्राकृतिक, सुन चोर, मानिस बेचेर पैसा चोर, जग्गा चोर, भगवानका मूर्ति चोर ।
सबै बाठा चोरहरु बेलैमा आफ्ना लागि र केही नजिकैका भतुवाहरूका लागिमात्र तिनका बलिदान, योगदान नामका पहरी गुथाएर हामी जनता नामका मन्द बुद्धि भएकाहरूलाई गुप्ताङ्ग देखाइदिए ।
विश्वमा कहीँ कतै देख्न नपाइने प्रयोगशाला नेपालमा देखाएर आज पनि ८४ मा अझै देखाउने हो भन्दैछन् । अझै के रहेछ देखाउन बाँकी रहेको यी मानव आकार भएका कलङ्कहरूको ?
भगवान छन् भने चाँडै नै राजनीति गरेर जनताको लागि राम्रो गरेका भन्नेहरुलाई स्वर्गमा रहेको तातो तेलको कराईमा सास छँदै छिट्टै डुबाउने व्यवस्था मिले हुने थियो । मन्द बुद्धिको कमाल बढी भयो ।