‘मिसनका साथ ममाथि गालीगलौज भइरहेको छ’: प्रधानमन्त्री ओली [भिडियो]
गालीको मिसन चलाउनेहरू योगको संगतमा आएको खण्डमा ‘मान्छे बन्ने’ विश्वास
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
742
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ‘मिसनका साथ’ गालीगलौज भइरहेको बताएका छन्। शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन्।
प्रधानमन्त्री ओलीले आफू कसैप्रति वैरभाव नराख्ने र सधैँ प्रसन्नचित्त रहने गरेको बताए। उनले आफूलाई गाली गर्नेहरू मिसनका साथ लागिपरेको भए पनि त्यसप्रति माया लाग्ने र आफू प्रसन्न रहने गरेको उल्लेख गरे। गाली आउनुको कारण आफूले उनीहरूलाई बुझाउन नसकेको मात्र भएको उनको भनाइ थियो। उनले आफू सबैलाई बुझाउन नसक्ने पनि बताए।
"म कसैप्रति वैरभाव केही राख्दिनँ। सधैँ प्रसन्नचित्त हुन्छु। मलाई गाली गरिरहेका हुन्छन्। मिसन छ गाली गर्ने। मिसन छ। म बुझ्छु त्यो कुरा," ओलीले भने, "माया लाग्छ गाली गर्नेहरूप्रति। तर म प्रसन्न रहन्छु। किनभने मैले उसलाई बुझाउन सकिनँ। त्यत्तिमात्रै कुरा हो।"
प्रधानमन्त्री ओलीले गालीको मिसन चलाउनेहरू योगको संगतमा आएको खण्डमा ‘मान्छे बन्ने’ विश्वास व्यक्त गरे। उनले योग मनलाई स्थिर गर्ने कुरा भएको र राम्रा काममा स्थिर हुनु नै योग भएको जिकिर गरे। "यदी योगको संगतमा आए भने तपाईंहरूको संगतमा आए भने ति मान्छेहरू पनि मान्छे हुन्छन्। तपाईंहरूले कसैलाई मुख छोड्दै गाली गर्दै हिँड्नुभएको छ? हिँड्नुहुन्न। किनभने तपाईंहरू योग, ध्यान, प्राणायम गर्नुहुन्छ। योग भनेको चित्तानुशासनम् हो," उनले भने।