काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संसदीय समितिबाट सर्वसम्मत पारित भई संसदको कार्यसूचीमा राखिएका विधेयकहरू हटाइनु राम्रो नभएको बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै प्रचण्डले समितिमा विचारविमर्श गरी पारित भएका विधेयकहरू सदनको कार्यसूचीमा चढेर हटाइनु राम्रो नहुने बताएका हुन्। उनले विधेयकहरू समितिबाट सदनमा पुग्दाको बीचमा धेरै चलखेल हुने गरेको आरोपसमेत लगाए।
अध्यक्ष दाहालले भने, "हामी समितिमा बस्छौँ, छलफल गर्छौं, माननीय सदस्यहरूले अध्ययन गरेर विचार गरेर, चिन्तन मनन गरेर पारित पनि गर्दछौँ। कोही सर्वसम्मतले, कोही भोटिङबाट भए पनि पारित गर्दछौँ। तर हामीले पारित गरेका प्रस्तावहरू, विधेयकहरू पनि फुल हाउसमा पुग्ने बेलासम्म त्यहाँ धेरै किसिमका चलखेलहरू हुने गरेका छन्। त्यसमा डिले हुने गरेको छ, धेरै धेरै चिजहरू हुने गरेको छ। अहिले पनि मलाई असाध्यै बढी चिन्ता लागेको छ।"
उनले देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्त्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको बताए।
अध्यक्ष दाहालले सरकारसँग अलिक बढी समझदारी बढाउनुको एउटा कारण सकेसम्म संवेदनशील र महत्त्वपूर्ण विधेयकहरू छिटो ऐनमा परिणत हुन् भन्ने रहेको जिकिर गरे। उनले समितिले धेरै मेहनत गरेर सदनबाट समितिमा आएका, समितिबाट पारित गरेर सदनमा पुगेर कार्यसूचीमा चढेर पनि हटाइनेजस्तो प्रक्रिया देख्दा चिन्ता लागेको बताए।