पतिले चलाएको पसलमा आगो लगाएर भागिन् मापसे गरेकी पत्नी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
811
Shares
तस्बिर – फाइल ।
भद्रपुर । झापाको बिर्तामोड–१ स्थित बिर्तासिटी अस्पताल नजिक रहेको चिया–नास्ता पसलमा आगलागी भएको छ । टिनको छाना र टिनले बारिएको उक्त भुइँतले पसलमा आज अपराह्न ४ बजेको समयमा आगो लागेको हो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बलभद्र प्रसाईद्वारा सञ्चालित सो पसलमा उनकी ३८ वर्षीया श्रीमती सोइता प्रसाईले मादक पदार्थ सेवन पश्चात श्रीमान्सँगको झगडामा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगो लगाएको आरोप लागेकी सोइता हाल फरार रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा २० मिनेटमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिजलगायत पसलभित्र रहेका सामग्री जलेर करिब दुई लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस