ओलीको चेतावनी: 'मिसन ०८४' मा बाधा पुर्याउनेको हिसाब-किताब हुनेछ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
872
Shares
काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको 'मिसन ०८४' मा कसैले पनि बाधा पुर्याउन नसक्ने र यदि कसैले त्यस्तो प्रयास गरेमा त्यसको हिसाब-किताब हुने बताएका छन्। जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।
ओलीले एमालेले अर्जुनदृष्टिका साथ मिसन ०८४ लाई हेरिरहेको बताए। उनले पार्टीलाई एकताबद्ध, अनुशासित, वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपमा सुदृढ बनाएर अगाडि बढाउने कुरामा पार्टी नचुक्ने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले पार्टीभित्र महाधिवेशन आउनुअगावै केही स्वार्थी तत्वहरूले 'रडाको' मच्चाउन खोज्ने र अनावश्यक घोषणा गर्न सक्ने भन्दै त्यस्ता प्रवृत्तिहरूलाई कसैले पनि प्रोत्साहन नगर्न निर्देशन दिए। उनले भने, "अनुशासनहीन ढंगले कोही पनि नेता, कार्यकर्ता एमालेका चल्ने छैनन् भन्ने मैले विश्वास लिएको छु।"
ओलीले 'मिसन ०८४' पार्टीको प्रमुख लक्ष्य रहेको र यसमा कसैले पनि बाधा पुर्याउन नसक्ने दोहोर्याए। उनले अनुशासनका साथ पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन आग्रह गर्दै भने, "मिसन ०८४ हाम्रो अगाडि छ। द्रोणाचार्यले धनुर्विद्या सिकाउँदा चराको आँखा मात्रै देखे जस्तै हामी मिसन ०८४ देखिरहेका छौँ। मिसन ०८४ मा बाधा कसैले पुर्याउन सक्दैन, पुर्याउन खोजे त्यसको हिसाब-किताब गरिनेछ।"