एसईई नतिजाबारे प्रधानमन्त्री ओलीको टिप्पणी: 'विद्यार्थीको मेहनतको अपमान' भएकोमा आपत्ति
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
2.3k
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाप्रति केही 'विद्वानहरूले' विद्यार्थीको अपमान हुने गरी टिप्पणी गरेको भन्दै आपत्ति जनाएका छन्। शनिबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले यस वर्षको एसईई नतिजामा गत वर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको र यो एक सुखद् कार्य रहेको बताए। उनले भने, "४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१.८१ प्रतिशतको नतिजा पुर्याउन मेहनत गर्ने विद्यार्थी भाइबहिनीलाई धन्यवाद भन्न चाहन्छु, राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद भन्न चाहन्छु, उहाँहरूको मेहनत सफल भएको छ।"
तर, यस्तो राम्रो नतिजामा पनि केही मानिसहरूले 'अंक थपेर पास गराइयो' भन्दै विद्यार्थीहरूको अपमान गरेकोमा उनले दुःख व्यक्त गरे। उनले नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाइ अघि बढाउनसक्ने खुबी रहेको बताए।
प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले आफ्नो योजनाअनुसार अघि बढ्ने बताए। उनले विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिए।