मुख्यसचिव अर्यालले गरे वैदेशिक रोजगार, राहदानी र उद्योग विभागको अनुगमन
सेवा प्रवाहमा सुधारको आवश्यकता
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
814
Shares
काठमाडौँ। मुख्यसचिव एकनारायण अर्यालले मंगलबार वैदेशिक रोजगार विभाग, राहदानी विभाग, उद्योग विभाग लगायतका महत्त्वपूर्ण निकायहरूको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले यी कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्था बारे जानकारी लिएका हुन्।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले सेवाग्राहीले अझै पनि सेवा पाउन सास्ती खेप्नुपरेको जानकारी प्राप्त भएको र सुधार्नुपर्ने धेरै कुराहरू रहेको बताए। उनले अहिले अध्यागमन, वैदेशिक रोजगार, राहदानी र नेपाल प्रहरीका सम्पूर्ण प्रणालीहरूलाई सरकारले एकीकृत गर्न लागेको जानकारी दिए।
"अनुगमन गर्दा केही समस्या फिल्डमा देखियो," उनले भने, "अहिले हामीले अध्यागमन, वैदेशिक रोजगार, राहदानी, नेपाल प्रहरीका जति पनि हाम्रा सिस्टम छन् त्यसलाई हामी एकीकृत गर्न लागेका छौँ। यसलाई इन्टिग्रेटेड गरेर सबैलाई व्यवस्थित गर्दैछौँ। अहिले के-के समस्या रहेछन्, के-के सुधार्नुपर्ने रहेछ, अहिले डेलिभरी कस्तो भइरहेको रहेछ भनेर अनुगमन गरिएको हो। अनुगमनमा नागरिकले धेरै समस्या भोगेको पाइयो।"
मुख्यसचिव अर्यालले तीन तहका संयन्त्रबीच समन्वयता नहुँदा पनि कतिपय सेवा प्रवाहमा कठिनाइ भएको र नागरिकले दुःख पाएको बताए। उनका अनुसार, तीन तहका सरकारबीच समन्वय गर्नुपर्ने देखिएको छ। मंगलबारको अनुगमनका क्रममा देखिएका केही समस्यालाई तत्काल समाधान गर्नका लागि उनले टेलिफोनबाटै निर्देशन दिएका छन्। प्रणाली सुधार गर्ने विषयमा आगामी वर्ष गर्नुपर्ने काम पनि अघि बढाइने उनको भनाइ छ।