arrow

माधव नेपालद्वारा सरकारको चर्को आलोचना, एमाले संकटग्रस्त रहेको दाबी [भिडियो]

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न सकिँदैन, यो सरकारको पतन अनिवार्य छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
madhav-20.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार जनताका पीडा र वेदना सम्बोधन गर्न असफल भएको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार मुलुकलाई राम्रोसँग हाँक्न नसकेको आरोप लगाए। सोही कार्यक्रममा उनले नेकपा एमाले पनि गम्भीर संकटले ग्रस्त भएको दाबी गरे।

अध्यक्ष नेपालले सरकारले जनभावना बुझ्न र जनचाहनाको सम्मान गर्न नसकेको दाबी गर्दै भने, "यो सरकारले जनताको विश्वास पनि जित्न सक्दैन, जनचाहना बमोजिम परिणाम दिने कुनै पनि अवस्था छैन।" उनले वर्तमान सरकारलाई जनमुखी नभई जनविरोधी र सुशासनको नभई कुशासनको पक्षपोषक भएको आरोप लगाए।

"अहिले हाम्रो देशको राजनीतिक अवस्थालाई चर्चा गर्ने हो भने सरकारले मुलुकलाई राम्रोसँग हाँक्न सकेको छैन," उनले भने, "जनभावनालाई बुझ्न सकेको छैन। जनचाहनालाई सम्मान गर्न सकेको छैन। सही नीति अवलम्वन गर्न सकेको छैन। जनताका पीडा, वेदनालाई सम्बोधन गर्न पनि सकेको छैन।"

उनले यस्तो सरकारलाई साथ दिन नसकिने स्पष्ट पार्दै वर्तमान सरकारको पतन अनिवार्य रहेको र समय मात्रै पर्खिनुपर्ने बताए। देशमा बढिरहेको आर्थिक मन्दी र बेरोजगारीप्रति सरकार उदासीन रहेको सङ्केत पनि उनले गरे।

सोही कार्यक्रममा अध्यक्ष नेपालले नेपालको राजनीतिमा 'मूल कम्युनिष्ट पार्टी' भनिएको नेकपा एमाले 'निकै संकटले ग्रस्त' भएको बताए। एमालेभित्र अन्तरविरोध बढ्दै गइरहेको उल्लेख गर्दै उनले नेकपा एमालेको भविष्य सहजै भन्न सकिने अवस्था नरहेको धारणा राखे।

"नेपालको राजनीतिमा मुल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले निकै संकटले ग्रस्त भएको छ। संकटले ग्रस्त भएको छ। अन्तरविरोध बढ्दै गइरहेको छ," उनले भने। उनले कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभई दक्षिण अवसरवादी प्रवृत्तिमा चुर्लुम्म डुब्ने जस्ता प्रवृत्तिहरूलाई परास्त गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले कम्युनिष्टहरूको भविष्य अझै रहेको विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ