केएमसीमा पहिलो पटक कलेजो प्रत्यारोपण, राज्यको नीतिले ढिलाइ भएको गुनासो [भिडियो]
दिने पत्नी, लिने पति, दुवैको स्वास्थ्य ठीक, केएमसीले सबैभन्दा सस्तोमा उपचार गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
730
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्न सफल भएको छ ।
केएमसीले डडेलधुराका एक बिरामीमा कलेजो प्रत्यारोपण सफलतापूर्वक गर्न सफल भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ठूलो बुबा सम्बोधन गरेकी ३३ वर्षीया यशोदादेवी देउवाले आफ्ना पति ३९ वर्षीय प्रतिककुमार नगरकोटीलाई कलेजो दिएसँगै प्रत्यारोपण सम्भव भएको हो ।
केएमसीका विभागीय प्रमुख प्राडा प्रविण थापाको नेतृत्वमा रहेको डा रोहनकुमार घिमिरे सम्मिलित नेपाली टोली र भारतबाट झिकाइएका दुई जना विज्ञ चिकित्सकको टोली मिलेर केएमसीमा पहिलो कलेजो प्रत्यारोपण सम्भव भएको हो ।
केएमसीका पूर्व कार्यकारी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा शर्माले केएमसीले ठूलो सफलता हासिल गरेसँगै अब पीडितले महँगो शुल्क तिरेर भारतमा गएर प्रत्यारोपण गराइरहन नपर्ने बताए ।
डा शर्माले सरकारको गलत स्वास्थ्य नीतिका कारण विश्वमा पहिलो पटक गरिएको प्रत्यारोपणको ६२ वर्षपछि केएमसीले प्रत्यारोपण गर्दा पनि खुशी हुनु परेको बताए ।
अमेरिकाको कोलोराडोमा पहिलो पटक सन् १९६३ मा कलेजो प्रत्यारोपण गरिएको पनि डा शर्माले जानकारी दिए ।
पाँच वर्षअघिदेखिकै ‘ड्रिम प्रोजेक्ट’ भए पनि आफूहरुलाई लाइसेन्स लिन सरकारले दुई वर्ष लगाइदिएको उनको गुनासो छ । डा शर्माले आफूहरुलाई मानव तस्करजस्तो बनाइएको दुःखेसोसमेत पोखे ।
स्वास्थ्य मन्त्रीमा प्रदीप पौडेल आएपछि मात्र आफूहरुले मृगौला र कलेजो प्रत्यारोपणको लाइसेन्स पाएको उनले बताए ।
डा शर्माले बंगलादेश लगायतबाट तीन सय जना बिरामी कलेजो प्रत्यारोपणका लागि तयार रहेको तर स्वास्थ्य नीतिका कारण उनीहरुलाई उपचार गर्न नपाइएकोसमेत बताए ।
कलेजो प्रत्यारोपण महँगो भएको भन्दै डा शर्माले भारतमा ४०–४५ लाख लाग्ने र नेपालमै पनि राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रले २० लिने गरेको जानकारी दिँदै आफूहरुले भने हाललाई निःशुल्क जस्तै गरेर (औषधि र शल्यक्रियाका लागि चाहिने सामान तथा विदेशबाट विज्ञ झिकाउँदा उनीहरुको शुल्कमात्र) प्रत्यारोपण गरिने बताए ।
नगरकोटीको कलेजो प्रत्यारोपण गर्दा पनि यी शुल्कमात्र लिएर बाँकी खान, बस्नसमेत निःशुल्क गरेर उपचार गरेको डा शर्माले बताए ।
डा घिमिरे डा शर्माकै सल्लाहमा प्रत्यारोपण केन्द्रमा सरिक भइरहेका छन् । केही समयअघिमात्र केएमसी र प्रत्यारोपण केन्द्रबीचको समन्वयमा मृत मस्तिष्क (ब्रेन डेड) व्यक्तिबाट कलेजो र मृगौला निकालेर एक बिरामीलाई प्रत्यारोपण गरिएको थियो ।
डा घिमिरेले नेपालमा करिब ६० जनामा कलेजो प्रत्यारोपण गरिएको बताए । जसमा प्रत्यारोपण केन्द्रमा तीन दर्जन, शिक्षण अस्पताल महाराजगञ्जमा एक दर्जन तथा बाँकी निजी क्षेत्रले गरेका हुन् ।
कलेजो दाता देउवाले आफू दुई वर्षदेखि बिरामी पतिलाई लिएर पैसाको अभावमा यता र उता गर्दै भौँतारिएको तथा अन्तिममा केएमसीमा जोडिएर ठूलो राहत मिलेको बताइन् ।
उनले डा शर्मा भगवान् बनेर आफूहरुको जीवनमा आएको बताइन् । उनका पति नगरकोटीले केएमसीले आफ्नो जीवन बचाएको भन्दै खुशी व्यक्त गरे ।
कलेजो प्रत्यारोपणपछि देउवा ६ दिनपछि र नगरकोटी १२ दिनपछि डिस्चार्ज भएका छन् । केएमसीले यसअघिको फलोअपमा पनि नियमित साथ दिने बताएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।