भोटेकोशी बाढी: प्रचण्डद्वारा उद्धार तथा राहत प्रभावकारी बनाउन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असार २४ मंगलबार
789
Shares
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत प्रचण्डले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु।”
अध्यक्ष दाहालले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिएका छन्। मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याएका छन्।
उनले सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकहरूलाई यो सङ्कटको घडीमा एकजुट भएर कार्य गर्न अपिल पनि गरेका छन्।