प्रधानमन्त्री ओलीद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरू सम्मानित: खेलकुदमा सरकारको ’पर्याप्त ध्यान’ रहेको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ असार २५ बुधबार
682
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताएका छन्। बुधबार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक, र व्यवस्थापकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालले खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नभएको उल्लेख गर्दै धेरै देशहरूमा संगठित रूपले खेलकुद अघि बढिसक्दा नेपालमा ’संगठित रूपमा खेल अघि बढेको धेरै समय नरहेको’ बताए। उनले अब खेलाडीहरू खेल खेलेर ’बाँच्न सकिन्छ’ भन्ने स्तरमा पुगेको र ’व्यावसायिक खेलाडी वा सम्पूर्ण रूपमा खेलमै समर्पित खेलाडी हुन सक्ने स्थिति’ अहिले निर्माण भएको दाबी गरे। यसैको परिणामस्वरुप नेपालले सफलता हासिल गर्दै गएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले भने, "खेललाई अघि बढाउन थालेको धेरै भएको छैन। अरु धेरै देशहरूमा संगठित रूपले खेल अघि बढाएको लामो समय भइसक्दा हाम्रोमा संगठित रूपमा खेल अघि बढाएको थिएन। पछिल्लो समयमा बढाएपनि त्यसमा पर्याप्त ध्यान गएको थिएन। अहिले सरकारको पनि ध्यान छ र अब खेलाडीहरू व्यावसायिक रूपमा पनि खेलको अर्थ छ, खेलबाट पनि बाँच्न सकिन्छ जस्ता स्तरमा पुगेका छन्। पहिला व्यावसायिक खेलाडी वा सम्पूर्ण रूपमा खेलमै समर्पित खेलाडी हुनै सक्दैन थियो। अहिले समर्पित खेलाडी हुनसक्छ। यसैले नै सफलता पनि प्राप्त गरिरहेका छौँ।"
उनले नेपालले ’अनेक हिसाबले प्रगति गर्दै’ रहेको र खेलकुद सुविधाको हिसाबले पनि पहिले दशरथ रंगशाला मात्र रहेकोमा अहिले क्रिकेटले पनि राम्रो सफलता प्राप्त गरिरहेको बताए।
प्रधानमन्त्री ओलीले गत कात्तिक ७ देखि १२ गतेसम्म जापान उसु ताइजी महासंघको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वर्ल्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरे। यस्तै, गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एशियन कबड्डी च्याम्पियन (महिला) मा कास्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई एक लाख ५० हजारका दरले पुरस्कार दिइयो।
त्यसैगरी, गत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कामा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाखका दरले पुरस्कार दिइयो। यी पुरस्कारहरू राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट प्रदान गरिएको हो।
प्रधानमन्त्री ओलीले यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई बधाई तथा स्वागत पनि गरे।