भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बन्ने -प्रधानमन्त्री ओली
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
706
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन्। बिहीबार ललितपुरमा ’नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याब’ को उद्घाटन गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालमा अहिले भएका रंगशालाहरू साना भएको र अब बन्ने रंगशालाहरू ५० हजार दर्शक क्षमताभन्दा माथिका हुने दाबी गरे। "हाम्रा रंगशालाहरू अब साना भए। अहिलेका रंगशालाहरू साना भए। अब हामी ठूला रंगशाला बनाउँछौँ," उनले भने, "मैले सोचेको छु, सूर्यविनायक उतापट्टि जगाती, चाइनिज इँटाभट्टा भन्ने ठाउँमा हामी रंगशाला बनाउन सक्छौँ। पर्याप्त दर्शक अट्ने खालको रंगशाला बनाउन सक्छौँ। त्यो ठाउँ मैले हेरिरहेको छु।"
उनले झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खालको रंगशाला बनाउने तयारी भइरहेको बताए। "न्यूनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ। १५ हजारले हेर्ने खालको रंगशाला होइन, कम्तीमा ५० हजारले हेर्ने रंगशालाभन्दा सानो अब हुँदैन," उनले थपे।
प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरूलाई नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए। नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरू ल्याउन सकिने सम्भावना रहेको पनि उनले जानकारी दिए।