चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
665
Shares
काठमाडौं। नेपालका चार प्रमुख क्यान्सर अस्पतालहरूलाई अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। यी सामग्रीहरू क्यान्सरका बिरामीहरूलाई निःशुल्क उपलब्ध गराइनेछन्।
अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डाइरेक्ट रिलिफको सहयोग र वान हार्ट वल्र्डवाइडको समन्वयमा प्राप्त भएका यी औषधि तथा सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो। मन्त्रालयले आइतबार नै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके), र वीर अस्पताल (काठमाडौं) लाई ती सामग्रीहरू हस्तान्तरण गरेको हो।
औषधि तथा सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा क्यान्सरका बिरामीहरूको संख्या धेरै रहेको र औषधिहरू महँगो तथा सहजै उपलब्ध नहुने भएकाले विपन्न नागरिकहरूलाई लक्षित गरी यो सहयोग ल्याइएको बताए। उनले यसबाट धेरै नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री पौडेलका अनुसार, यी औषधिहरू खरिदमा राज्यको कुनै लगानी छैन, तर पनि सरकारले नागरिकलाई केही राहत पुर्याउने प्रयास गरेको छ। उनले स्वास्थ्य क्षेत्रमा क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउँदै धेरै नागरिकलाई राज्यबाट निःशुल्क उपचार सेवा उपलब्ध छ भन्ने जानकारी नहुने भएकाले लक्षित समूहलाई यसबारे बुझाउने गरी काम गर्नुपर्नेमा जोड दिए।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमरलगायतका स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू सम्बन्धित अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क उपलब्ध हुनेछन्। मन्त्रालयले भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने जनाएको छ।