arrow

अमेरिका-ईयू व्यापार विवाद: ईयूले जवाफी कर स्थगित गर्‍यो, वार्ताका लागि तयार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
europe-west-geopolictics.jpg

काठमाडौं। युरोपेली सङ्घ (ईयू) प्रमुख उर्सुला भोन डेर लेयनले आइतबार अमेरिकाले फलाम र एलुमिनियममा लगाएको शुल्कको जवाफमा ईयूले लगाउने कर अहिलेका लागि स्थगित गरिएको बताएकी छन्। सङ्घले अब वार्ताका लागि केही समय पर्खने योजना बनाएको छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चेतावनी दिँदै अगस्ट १ भित्र कुनै व्यापार सम्झौता नभएमा ईयूमा उत्पादन भएका सामानहरूमा ३० प्रतिशतसम्मको नयाँ भन्सार शुल्क लागु गरिने बताएका थिए।

लायनले भनिन्, "अमेरिकाले वार्ता सफल नभएमा कडा कदम चाल्ने औपचारिक सूचना दिएको छ। त्यसैले हामीले पनि अगस्टको सुरुदेखि लागु हुने भनिएको हाम्रो जवाफी कदमलाई केही समयका लागि स्थगित गरेका छौँ।" उनले थपिन्, "हामी चाहन्छौँ समस्या छलफलबाट समाधान होस्। तर यदि आवश्यक परेमा, हामी जवाफ दिन तयार छौँ।"

लायनले युरोपेली सङ्घ सधैं वार्ताबाट समाधान खोज्ने पक्षमा रहँदै आएको र अहिले पनि यही बाटो रोज्नेमा जोड दिइन्। उनले अगस्ट १ सम्मको समय सम्झौताका लागि प्रयोग गरिने बताइन्।

युरोपेली सङ्घको जवाफी कर लगाउने निर्णय यसअघि सोमबार रातिदेखि लागु हुने तय थियो, तर वार्ताको सम्भावना बाँकी रहेको भन्दै त्यो निर्णय केही समयलाई स्थगित गरिएको हो।

ईयूले अमेरिकाद्वारा यस वर्षको सुरुमा फलाम र एलुमिनियममा लगाइएको भन्सार शुल्कको जवाफमा २१ अर्ब युरो बराबरका वस्तुहरूमा कर लगाउने योजना बनाएको थियो। तर सम्झौताको सम्भावनालाई खुला राख्दै, सङ्घले मार्च महिनामा नै त्यो कदम रोकेको थियो।

"हामी सुरुदेखि नै तयार थियौँ। अहिले पनि यदि आवश्यक पऱ्यो भने तुरुन्तै जवाफी कदम चाल्न सक्ने स्थिति छ," लायनले भनिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ