कर्णाली र सहायक नदीमा घडियाल गोही र डल्फिनले बच्चा हुर्काउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
702
Shares
घोडाघोडी (कैलाली)। कैलालीको कर्णाली नदीसहित यसका सहायक नदीहरू पथरैया र मोहनामा यस वर्ष घडियाल गोही र दुर्लभ डल्फिनले बच्चा हुर्काइरहेको पाइएको छ। यो प्राकृतिक प्रक्रिया जलप्राणी संरक्षणका लागि उत्साहजनक मानिएको छ।
संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार, असारको पहिलो हप्तादेखि नै पथरैया र मोहना नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका छन्। विगत चार वर्षदेखि यस क्षेत्रमा घडियालले बच्चा कोरल्दै आएका छन्। यस वर्ष मोहना, पथरैया र कर्णाली तीनवटै नदीमा घडियालले सफलतापूर्वक बच्चा कोरलेको उनले बताए। नेपालमा चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा सरकारले घडियाल गोहीको बच्चा हुर्काउने व्यवस्था गरेको भए पनि, यी नदीहरूमा भने बिनाकुनै लगानी प्राकृतिक रूपमै बच्चा हुर्किरहेका छन्।
घडियालसँगै यस क्षेत्रमा डल्फिनका बच्चा पनि हुर्किरहेका छन्। विश्वमै दुर्लभ मानिने र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ को रातो सूचीमा रहेको डल्फिनका बच्चा वर्षायामको समयमा कर्णाली नदीलगायत सहायक नदीहरूमा वयस्क डल्फिनसँगै देखिने गरेका छन्।
संरक्षणकर्मी ढुङ्गानाले सुरुमा आएका वयस्क डल्फिनसँग अचेल स–साना बच्चा पनि देखा परिरहेको बताए। "कम्तीमा पनि दुई–तीन दिनमा छ–सात वटा बच्चा वयस्क माउसँग देखा परिरहेका छन्," उनले भने, "अहिले देखा परिरहेका बच्चालाई डल्फिनले मोहना नदीमा जन्माएका हुन्।" डल्फिन बच्चा जन्माउने स्तनधारी प्राणी हुन् र स्वच्छ पानीमा बस्न रुचाउँछन्।
संरक्षणकर्मी विजयराज श्रेष्ठले भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन मनसुन अवधिभर बच्चा हुर्काउनका लागि कैलालीको कर्णालीसहित सहायक नदीमा आउने गरेको बताए। "तीन महिनाभन्दा बढी समयसम्म डल्फिन यहाँ बस्छन्। मनसुन बाहिरिएसँगै कर्णाली नदीमा फर्कने गर्दछन्," उनले भने। यी नदी क्षेत्रमा मुख्य आहारा माछा, घोँगीका साथै लेउ प्रशस्त पाइने र स्वच्छ जल तथा बढी दोभान भएकाले हरेक वर्षायाममा डल्फिन आउने श्रेष्ठको भनाइ छ। यहाँ ’प्लानिभेष्टा ग्यागेटिक’ जातको डल्फिन पाइन्छ, जुन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइन्छ।
घडियाल र डल्फिनसँगै यी नदीहरूमा मगर गोहीले पनि बच्चा हुर्काइरहेका छन्। यो प्राकृतिक वातावरणीय सन्तुलन र जलप्राणी संरक्षणका लागि महत्त्वपूर्ण सूचक मानिएको छ।