वीरगञ्ज (पर्सा)। वीरगञ्जमा खानेपानीको चर्को अभाव भएपछि बुधबार गहवामाई मन्दिरको प्राङ्गणमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ। पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लाभर पानीको हाहाकार भएपछि भगवान् इन्द्रसँग पानी माग्दै यो प्रार्थना यज्ञ गरिएको हो।
गहवामाई मन्दिरको व्यवस्थापन र सञ्चालन गर्दै आएको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले वीरगञ्जसहित समग्र मधेस प्रदेशमा आकाशे पानी नपरेर पानीको अभाव भएपछि यो यज्ञ गरिएको बताए।
"यहाँ आकाशे पानी नपरेपछि खानेपानी र सिँचाइको चर्को समस्या भइरहेको छ," उनले भने, "धार्मिक परम्पराअनुसार भगवान् इन्द्रको यज्ञ र हवन गरेपछि पानी पर्ने विश्वास रहेको छ। गहवामाई मन्दिर प्राङ्गणमा अहिले पाँच जना पुरोहितले पूजापाठ तथा यज्ञ गरेका छौँ। धार्मिक परम्परा र विधिमार्फत यज्ञ गरेकाले पनि छिट्टै आकाशे पानी पर्ने विश्वास लिएका छौँ।"
तराई मधेसमा पर्याप्त पानी नपर्दा दैनिक जनजीवनसमेत प्रभावित हुँदै आएको छ।