अष्ट्रेलिया भ्रमणमा रहेको पाकिस्तान अष्ट्रेलिया विरुद्दको चौथो एकदिवशिय खेलमा ८६ रनले पराजित भएको छ। सिड्नी क्रिकेट मैदानमा भएको उक्त खेलमा टस जित्दै ब्याटिङ्ग रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३ सय ५३ रनको विशाल योगफल तयार गरेको थियो। उसका लागि खेलको 'प्लेयर अफदि म्याच' डेविड वार्नरले १ सय ३० रन बनाए भने ग्लेन म्याक्सवेलले आक्रमक ७६ रनको पारी खेले।बलिङ्गमा पाकिस्तानका लागि हसन अलीले ५ विकेट हात पारे पनि अन्य बलरले साथ दिन नसकेपछि अष्ट्रेलियाले ठुलो रन स्कोरबोर्डमा खडा गरेको थियो।
३ सय ५४ रनको विशाल बिजयी लक्ष्य सहित जबाफी ब्याटिङ्गका लागि मैदानमा उत्रिएको पाकिस्तान ४३ ओभर ५ बलमा सबै विकेट गुमाउदै २ सय ६७ रनमा समेटिन पुग्यो। उसका लागि शर्जील खानले सर्वाधिक ७४ रनको योगदान दिए। पाकिस्तानी ब्याटिङ्गलाइनलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका लागि अदम जाम्पा तथा जोश हेजलवुडले समान ३-३ विकेट लिए।
यो जितसँगै अष्ट्रेलिया पाकिस्तान विरुद्द्को ५ एक दिवशिय खेलको श्रृखंलामा ४ खेलबाट ३-१ को अग्रता लिदै उपाधी माथि कब्जा जमाएको छ। उक्त श्रृखंलाको अन्तिम तथा पाचौँ खेल बिहिबार एडिलेडमा हुनेछ।