arrow

अमेरिकामा हिन्दू कार्ड : कूटनीतिक चातुर्य कि भोटको लोभ ?

logo
अन्तर्राष्ट्रिय ब्यूराे,
प्रकाशित २०७३ माघ १० सोमबार
hindu-symbols-60a.jpeg
काठमाडौं । अमेरिकामा पछिल्लो समय सत्ता परिवर्तनको क्रममा उठेको एउटा शब्द दक्षिण एशियाली मुलुकहरुको लागि ज्यादै प्यारो लाग्यो । विशेषगरी ७० देखि ७५ प्रतिशतसम्म हिन्दूहरुको बाहुल्यता रहेको भारतीय उपमहाद्वीपमा पर्ने यी मुलुकहरुले अहिलेसम्म संरक्षण गरेर राखेको हिन्दू धर्मलाई इशाई धर्मको सबैभन्दा मूल संरक्षकको रुपमा रहेको अमेरिकाले पटकपटक हिन्दू धर्मलाई महत्वका साथ लिएको देख्दा सनातन धर्मका अनुयायीहरुलाई खुशी नलाग्ने पनि किन ? 
 
पक्कैपनि अहिले हिन्दूधर्म विश्वको सबैभन्दा धेरैले मान्ने धर्मको सूचीमा चौथो स्थानमा रहेको छ । यो सनातन धर्म हो त्यसैले यसको अस्तित्व संकटमा पर्ने सम्भावना त रहँदैन । तरपनि विश्व शक्तिराष्ट्रको सूचीमा पहिलो स्थानमा रहेको अमेरिकाको सत्ता परिवर्तनका क्रममा समेत हिन्दू धर्मलाई दिईएको सम्मान र स्थानले पनि अमेरिकामा हिन्दूहरुको प्रभाव बढ्दै गएको स्पष्ट देखिन्छ । हिन्दूहरुलाई आफ्नो प्रभावमा पार्नका लागि अमेरिकाका दुई शक्तिशाली पार्टीहरु रिपब्लिकन र डेमोक्र्याट्सले समेत हिन्दू धर्मलाई उच्च प्राथमिकतामा राखेकोले पनि विश्वभरका हिन्दूहरुको ध्यान अहिले त्यतै तिर तानिएको छ । 
 
हिन्दूहरुपति अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको लगाव त निर्वाचित हुनु भन्दा अगाडिदेखि नै देखिन्थ्यो । कहिले आफैं मन्दिरमा गएर पूजागर्ने त कहिले आफ्नी छोरीलाई हिन्दू धर्मालम्बीहरुले गरेको पूजाआजामा संलग्न गराउने, जे सुकै गरेर पनि डोनाल्ड ट्रम्पले आफ्नो चुनावी प्रचारमा समेत हिन्दू मोह देखाएका थिए । त्यसो त ट्रम्पलाई पनि हिन्दूहरुको धेरै बसोबास रहेको छिमेकी मुलुक भारतमा सम्मानसाथ हेरिएको थियो । निर्वाचन अगाडि त भारतमा पूजाआजा गरेर नै ट्रम्पको विजयको कामना गरिएको थियो । 
 
उता, डेमोक्र्याटहरुले पनि हिन्दूलाई प्राथमिकता भने नदिएको होईन । पहिलेदेखि नै ओवामाले दीपावलीको दिन ह्वाईट हाउसमा नै दीपावली गर्ने प्रचलन ल्याएर हिन्दूहरुलाई उच्च सम्मान त दिएका नै हुन् । उनले जाँदा जाँदै पनि हिन्दूहरुलाई खुशी बनाउने गरी आफ्नो अभिव्यक्ति समेत दिएर गएका छन् । 
 
ह्वाईट हाउस छाड्नुअघि निवर्तमान राष्ट्रपति ओवामाले हिन्दूहरु पनि अव अमेरिकाको राष्ट्रपति बन्न सक्ने अभिव्यक्ति दिएर अमेरिकामा रहका हिन्दूहरुको मनोवल उच्च गराउने काम गरेका थिए । त्यो भन्दा बढी सम्मान दिनको लागि अहिलेका राष्ट्रपतिले त झनै आफ्नो नेसनल प्रेयरमा हिन्दू पुरोहितलाई नै बोलाईदिए । यसबाट के पुष्टि हुन्छ भने अमेरिकाका मूल दुईवटा पार्टीहरुले अहिले हिन्दू कार्ड फालिरहेका छन् । अर्थात् हिन्दूहरुलाई खुशी बनाउनको लागि सक्दो प्रयास गरिरहेका छन् । 
 
किन दिईँदैछ हिन्दूलाई महत्व ?
अमेरिकामा हिन्दूलाई महत्व दिनुको पछाडि धेरै तर्कहरु रहेका छन् । कसैले यसलाई सामान्य ढङगले विश्लेषण गरेका छन् त कसैले यसलाई अलिक फरक ढङ्गले समेत विश्लेषण गर्ने गरेको पाईन्छ । 
 
कसैले यसलाई अमेरिकामा बस्ने हिन्दू आप्रवासीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएकोले आफ्नो भोटको निम्ति हिन्दूहरुलाई जसले खुशी बनाउन सक्यो निर्वाचनमा समेत उसको पक्षमा परिवर्तन आउने सम्भावना देखेर पनि हिन्दू फकाउने अभियानमा दुबै पार्टी लागेको बताउने गरेका छन् । 
 
सन् १९०० मा १७ सय हिन्दूहरु रहेको अमेरिकामा सन् २००८ सम्म आईपुग्दा करिब २० लाख भोटरहरु रहेका एक रिपोर्टले देखाएको छ । 
 
एक रिसर्च सेन्टरको पछिल्लो प्रतिवेदनले पनि अमेरिकामा मुस्लिमहरुको भन्दा हिन्दूहरुको बाहुल्यता बढी रहेको देखाएको छ ।  कूल मतदाताहरु मध्ये १ प्रतिशत भन्दा पनि बढी मतदाता रहेको तथ्य संस्थाको उक्त प्रतिवेदनले देखाएको छ । यसरी जनसंख्याको १ प्रतिशत भोटरहरुलाई आफ्नो हातमा लिनको लागि पनि अहिले दुबै पार्टीहरु लागिपरेका हुन् भन्ने तर्क एकाथरीको रहेको छ ।  
 
उता, हिन्दूहरुको सवालमा डेमोक्र्याट भन्दा पनि रिपब्लिकन पार्टी बढी सक्रिय भएर लागि परेको बुझिन आएको छ । ट्रम्पको पछिल्लो गतिविधिले पनि यस्तै देखाएको छ । किनभने अमेरिकामा जाने भारतीय मूलका मानिसहरु अधिकांश डेमोक्र्याट पक्षमा आकर्षित हुने गरेका छन् । त्यसैले पनि ट्रम्पले हिन्दूहरुलाई आफ्नो पक्षमा पार्न कहिले भारतमा रहेको आफ्नो लगानीको कुरा गरेर त कहिले आफ्नी छोरीलाई हिन्दूबादी अभियानमा संलग्न गराएर हिन्दू मन जित्न प्रयासरत रहेको देखिन्छ । 
 
उता, यस्ता गतिविधिलाई हिन्दू कूटनीतिको रुपमा बुझ्नेहरुको पनि कमि छैन । हिन्दूहरु भन्ने वित्तिकै जनसंख्या भूगोल र शक्तिको हिसावले पनि अमेरिकाले भारतलाई देख्ने गरेको छ । अमेरिकाले नवशक्तिशाली मुलुकको रुपमा उदाउँदै गरेको भारतलाई आफ्नो हातमा लिनको लागि पनि धेरै कूटनीतिक गतिविधि गर्नु जरुरी रहेको छ । जसको लागि अमेरिकाले हिन्दू कार्ड मार्फत् भारतसँग साईनो गाँस्न खोजेको भन्नेको पनि तर्क स्वभाविक देखिन्छ । किनभने आफ्नो मूल प्रतिस्पर्धीको रुपमा रहेको चीनसँग लड्नको लागि अमेरिकाले भारत जस्ता उसको छिमेकी मुलुकहरुसँग साईनो गाँस्नु अस्वभाविक होईन । त्यसैले यसमा पनि अमेरिकाले हिन्दू कार्डबाट सम्बन्ध सुधारको नयाँ नक्सा कोरेको भन्न पनि सकिन्छ । 
 
यसरी कूटनीतिक होस् या त राजनीतिक जे जस्तो सुकै बाहानामा भएपनि अमेरिकामा सनातन हिन्दूधर्मको विकासको राम्रो वातावरण भने सिर्जना भएको देखिन्छ । यसमा नेपालीहरुले पनि खुशी मान्न सक्ने अवस्था रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ