काठमाडौँ । संयुक्त राज्य अमेरिका सन् २०२६ को अन्त्यसम्ममा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट बाहिरिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यो निर्णय ‘अमेरिका फस्र्ट’ नीतिको आधारमा अमेरिकाको राष्ट्रिय हितअनुरूप गरिएको जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार, युनेस्कोले सामाजिक र सांस्कृतिक विषयमा ‘विवाद सिर्जना गर्न सक्ने’ नीतिहरू अघि बढाएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ। विशेषगरी, प्यालेस्टाइनलाई सदस्यता दिएपछि यो संस्था अमेरिकाको आधिकारिक नीतिसँग असंगत देखिएको बताइएको छ।
ह्वाइट हाउसका प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको चाहनालाई ध्यानमा राख्दै सबै अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहभागिताको समीक्षा गरिरहेको बताइन्। उनले यस्ता निर्णयहरूमा अमेरिकाको राष्ट्रिय हितलाई सधैँ प्राथमिकता दिइने स्पष्ट पारिन्।
युनेस्कोकी महानिर्देशक औड्रे अजोउले अमेरिकी निर्णयलाई ‘दुःखद’ बताएकी छन्। उनले यस्तो परिस्थितिका लागि संस्थाले आवश्यक तयारी गरिसकेको जानकारी दिइन्। अजोउले बहुपक्षीयता र सांस्कृतिक संरक्षणमा युनेस्कोको भूमिका महत्त्वपूर्ण रहेको दोहोर्याउँदै विगतमा संस्थाले वित्तीय स्रोत र संरचनात्मक सुधार गरेको उल्लेख गरिन्। यस्तै, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले युनेस्कोप्रति फ्रान्सको दृढ प्रतिबद्धता व्यक्त गर्दै यसको योगदानको प्रशंसा गरेका छन्।
अमेरिकाले यसअघि पनि दुई पटक युनेस्कोबाट बहिर्गमन गरिसकेको छ। सन् १९८४ मा राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा र सन् २०१७ मा राष्ट्रपति ट्रम्पकै पहिलो कार्यकालमा अमेरिका बाहिरिएको थियो। सन् २०२३ मा भने तत्कालीन राष्ट्रपति जो बाइडेनले अमेरिकालाई पुनः युनेस्कोमा फर्काउने निर्णय गरेका थिए। यो बहिर्गमन अमेरिकाको दोस्रोपटक हुने बहिर्गमन हो।