विदेशी ‘डाइटरी सप्लीमेन्ट’को आयातले स्वदेशी उद्योगहरू समस्यामा
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
387
Shares
वीरगञ्ज (पर्सा)। विदेशी मुलुकबाट जथाभावी आयात हुने आहारपूरक (डाइटरी सप्लीमेन्ट) का कारण नेपालका स्वदेशी उद्योगहरूले प्रतिस्पर्धा गर्न नसकेको गुनासो गरेका छन्। बारा–पर्सा औद्योगिक कोरिडोरमा ‘जयश्री हेल्थकेयर’ उद्योग सञ्चालन गरिरहेका साकेत क्यालले विदेशी उत्पादनका कारण स्वदेशी उद्योग समस्यामा परेको बताए।
क्यालले ४० करोड रुपैयाँ लगानी गरी उद्योग खोले पनि राज्यका निकायबाट आवश्यक सहयोग र समन्वय नहुँदा मर्कामा परेको बताए। उनले विदेशबाट भित्रिने गुणस्तरहीन सप्लिमेन्टले जनस्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन सक्ने भन्दै यसमा सरोकारवाला निकायको ध्यान जानुपर्नेमा जोड दिए।
आहारपूरक सामग्रीको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भए पनि, पर्याप्त जनशक्ति र प्राविधिक अभावका कारण अनुगमनमा समस्या भएको छ। उद्योगी क्यालले विदेशबाट दर्ता तथा स्वीकृतिबिना भित्रिने यस्ता सामग्रीलाई व्यवस्थित गर्न कानुनी प्रबन्ध गर्नुपर्ने माग गरेका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि स्वदेशी उद्योगलाई प्रोत्साहन र संरक्षण गर्ने नीति सरकारले ल्याउनुपर्ने बताए। उनले उद्योगीहरूले भोग्नुपरेका कानुनी र प्रक्रियागत झन्झटहरू हटाउन र कच्चापदार्थको आयातमा छुट दिनुपर्ने माग गरे।
व्यवसायीहरूका अनुसार, सरकारले औषधि उद्योगलाई कच्चापदार्थमा १ प्रतिशत भन्सार महसुल लगाउँछ, तर आहारपूरकमा २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धिकर लगाउँछ।
जयश्री हेल्थकेयर उद्योगले हाल करिब ५० जनालाई रोजगारी दिएको छ र गत वर्ष करिब ६० लाख रुपैयाँ बराबरको उत्पादन बिक्री गरेको थियो। गत वर्ष नेपालमा करिब डेढ अर्ब रुपैयाँ बराबरका आहारपूरक सामग्री आयात भएकोले स्वदेशी उद्योगलाई प्रोत्साहन दिए आयात प्रतिस्थापनमा ठूलो सहयोग पुग्ने उद्योगी क्यालको भनाइ छ।