arrow

रुक्मशमशेर राणा पक्ष ओलम्पिक कमिटी प्रवेश

हस्तक्षेप गर्न प्रशासन लगाएका होइनौँ : राणा

logo
प्रकाशित २०७३ माघ १० सोमबार
olympic-come.jpeg

काठमाडौं । रुक्मशमशेर राणा पक्ष प्रहरी, प्रशासनको दल बलसहित ओलम्पिक कमिटीको कार्यालय प्रवेश गरेको छ । राणापक्ष प्रशासन लाएर प्रवेश गरेपछि ओलम्पिक कमिटी हाँकिरहेको जीवनराम श्रेष्ठ टोली कार्यालयबाट बाहिरिनु परेको छ ।

प्रशासनको दल बल लिएरै कब्जा गर्नु किन परेको ? प्रशासनले अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीको नेतृत्व झगडा मेटाउन सर्वोच्चले दिएको आदेश कार्यान्वयन मात्र गरेको हाे र यो राज्यको हस्तक्षेप नभएको ओलम्पिक कमिटी सदस्य नारायणदेव राणाले जवाफ दिए ।  

रक्मशमशेर पक्षले २०६३ सालदेखि नै आफूहरु ओलम्पिक कमिटीको आधिकारिक धार रहेकाे जिकिर गर्दै आएको थियो । आधिकारिक पक्ष आफुहरुलाई प्रमाणित गर्न भन्दै राणा पक्ष सर्वोच्च पुग्यो ।

सदस्य राणाले अगाडि भने, ‘सर्वोच्चले २०६७ मै फैसला गरेको थियो । छैँटौ पटक ताकेता गर्दासम्म नेतृत्व सम्हाल्ने वातावरण बनेन । सातौं पटक सर्वोच्चले गृहलाई ताकेता गरेपछि अब यसरी हुँदैन भन्दै हामीले खेलकूदको भविष्य हेरेर प्रवेशको निधो गरेका हौं ।’

सदस्य राणाका अनुसार गएको मंसीर २२ गते सर्वोच्चले सातौं पल्ट गृहमन्त्रालयलाई ताकेता गरेकामा २९ मंसिरमा गृहले ललितपुर  प्रशासनलाई ताकेता गरेको थियो । प्रशासनले सर्वोच्चको निर्देशन कार्यान्वयन गर्न सहयोग गर्नै पर्छ, सदस्य राणाले भने ।

सोमबार अपरान्ह कार्यबाहक अध्यक्ष किशोरबहादुर सिंहको नेतृत्वमा सुरक्षाकर्मीसहित टोली सातदोबाटोस्थित ओलम्पिक कमिटीको  कार्यालय पुग्यो । सिंहको टोलीले मंगलबारदेखि काम नै थाल्ने तयारी गरिसकेको सदस्य राणाले बताएका छन् । 

तपाईहरुको किचलोले ओलम्पिक कमिटीनै निलम्बनमा पर्ने खतरा बढ्यो रे ?
सदस्य राणाले भने, ‘त्यो हावादारी हो । निलम्बनमा पर्नलाई कसैले हस्क्षेप गरेको हुनु पर्छ । यो त सम्मानित अदालतले गरेको निर्णय कार्यान्वयन भएको हो । प्रशासनले निर्णय कार्यान्वयनमा सघाएको हो । राज्यले हस्तक्षेप गरेको हो र ? । यसमा राज्यले चासो देखाएको होइन ।’

यद्यपि, यो भन्दा पहिला कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा समेत रुक्मशमशेर राणा पक्षले ओलम्पिकमा जाने मौका पाएको विषय छुपेको छैन । अहिले पनि काँग्रेसकै गृहमन्त्री भएकाले यसमा राज्यको इन्ट्रेस्ट देखियो भन्ने गुनासा आएका छन् ।

यसअघि तपाइहरु कहाँ हराउनु भा थ्यो ?  
सदस्य राणाले भने, ‘केही त हाम्रो पक्षबाट पनि कमजोरी भएको छ । रुक्मदाई पूर्व राजदूत भएकाले पटक–पटक बाहिर जाने आउने गर्नु भाे । यतातिर उहाँले चासो राख्नु भएन । अघि बढ्नु भएन । विविध कारणहरु रहे । अब हामी खेलकूदको विकास गर्न भनेर साँच्चिकै सस्सिएर आएका छौं ।’ रुक्मशमशेर लामो समय राजदूत भई भारत बसेका थिए । अाेलम्पिक कमिटिमा अाइसकेपछि पनि राणाकाे बाहिरी व्यस्तता टुटेन ।

रुक्मशमशेर बाहिर बाहिरै हुन थालेपछि लथालिङ्ग भएको ओलम्पिक कमिटीमा धु्रवबहादुर प्रधानले दुई कार्यकाल खाए ।पछिल्लो कार्यकाल जीवनराम पक्षधरले खाइरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ