पाँचथर। प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाका चार सम्भागमध्ये पाँचथरमा तीन ओटा सम्भाग लागु हुने भएका छन् । साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) लागु हुने भएका हुन् । परियोजना अन्तर्गतको सुपरजोन देशका सात ओटा जिल्लाका सात ओटा वालीमा मात्र लागु हुन्छ ।
जिल्ला कृषि बिकास कार्यालय पाँचथरले सोमबार एक कार्यक्रमको आयोजना गरि पाँचथरमा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाका तीन ओटा कार्यक्रम लागु जनाएको हो । आगामि १० बर्षसम्मका लागि यो परियोजना सञ्चालन हुने भएको हो ।जिल्ला कृषि विकास कार्यालय पाँचथरका अनुसार जोन पाँचथर सहित देशका ३० ओटा जिल्लामा लागु हुन्छ । पाँचथरमा अलैँची बालीका लागि जोन कार्यक्रम लागु हुने भएको हो । यसका लगि एकतीन र सिदिन गाविस छनौट भएका छन् । जोन कार्यक्रम लागु हुन् न्युनतम पाँच सय हेक्टर जमिन आवश्यक पर्छ ।
त्यस्तै अदुवा र अलैँचीखेतीका लागि ब्लक कार्यक्रम लागु हुने भएको छ । फाक्तेप, चिलिङदिन र आङसराङ गाविसमा अलैँची खेतीका लागि ब्लक कार्यक्रम सञ्चालन हुने भएको हो । अदुवाको लागि फिदिम, भारपा र सुभाङ गाविसलाइ छनौट गरिएको हो ।
ब्लक सञ्चालका लागि कम्तिमा एक सय हेक्टर जमिन आवश्यक पर्ने जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकारी कमलेश तीवारीले जानकारी दिनुभयो । पकेट क्षेत्र कार्यक्रम पनि पाँचथरमा लागु हुने भएको हो । ब्लककै कार्यविधि अनुसार पकेट कार्यक्रम लागु हुने भएको छ ।
सुपरजोन कार्यक्रम देशका सात जिल्लामा मात्र लागु हुने भएको छ । झापा, बारा, दाङ, कास्की, काभ्रे, जुम्ला र कैलालीमा मात्र सुपरजोन कार्यक्रम लागु हुने भएको हो । झापामा धान खेती, बारमा माछा, दाङमा मकै, कास्कीमा तरकारी, काभ्रेमा आलु, जुम्लामा स्याउ र कैलालीमा गहूँका लागि सुपरजोन कार्यक्रम लागु हुने भएको हो ।
जिल्लामा जोन, ब्लक र पकेट कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक बर्षका लागि तीन करोड १२ लाख ४५ हजार रुपैँया आएको छ । कृषि कार्यालयलका अनुसार जोन कार्यक्रम सञ्चालनका लागि एक करोड आठ लाख ४५ हजार बजेट आएको हो । त्यस्तै ब्लक कार्यक्रम सञ्चालनका लागि एक करोड ४६ लाख रुपैँया र पकेट क्षेत्र कार्यक्रम सञ्चालनका लागि ५८ लाख बजेट आएको हो ।
यो परियोजना स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार गरिएको कृषि क्षेत्रको पहिलो परियोजनाको रुपमा लिइएको छ ।