काठमाडौँ । काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ बस्ने २० वर्षीय आशिष राई तथा मोरङको उर्लाबारी नगरपालिका-१ घर हाल गोकर्णेश्वर-५ जोरपाटी बस्ने १८ वर्षीय संस्कार मगर रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।
उनले भने, “यही साउन १८ गते राति गोकर्णेश्वर-६ नारायणटार लामा पेट्रोल पम्प नजिक मकवानपुर घर भई गोकर्णेश्वर-४ गोकर्ण नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरलाई धारिलो खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा निजहरूलाई पक्राउ गरिएको हो ।”
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा निजहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका थोकरको राष्ट्रिय ट्रमा सेन्टरबाट रेफर गरी अहिले वीर अस्पतालमा उपचार भइरहेको र अवस्था बोल्न सक्ने मध्यम रहेको प्रवक्ता चन्दले बताए । रासस