इरानका लागि नेपाली राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
1k
Shares
काठमाडौँ । इस्लामिक गणतन्त्र इरानका लागि नेपालका गैरआवासीय राजदूत रमेशचन्द्र पौडेलले तेहरानमा आयोजित एक विशेष समारोहमा इरानी राष्ट्रपति डा. मसूद पेजेसकियन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।
ओहदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा राजदूत पौडेलले नेपाल र इरानबीचको सुमधुर र मित्रवत् सम्बन्धको चर्चा गरे। उनले दुई देशबीच लगानी, व्यापार, पर्यटन, कृषि र शिक्षा जस्ता क्षेत्रमा आपसी सहयोग बढाउन सकिने सम्भावना रहेको बताए।
राजदूत पौडेलले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल को तर्फबाट इरानी राष्ट्रपति र इरानी जनताको समृद्धिको लागि शुभकामना सन्देश पनि हस्तान्तरण गरे।
जवाफमा, इरानी राष्ट्रपति पेजेसकियनले राजदूत पौडेललाई बधाई दिँदै उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सक्रिय भूमिका खेल्ने आशा व्यक्त गरे। उनले राजदूतलाई इरानी सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाए। साथै, उनले नेपालका राष्ट्रपतिलाई पनि शुभकामना सन्देश पठाएका छन्।