arrow

अस्पतालमा कैदीको मृत्युपछि छानबिन समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
cdo-parsa-.jpg

वीरगञ्ज (पर्सा)। वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। यस समितिमा प्रहरी, जनप्रतिनिधि, मृतकका आफन्त, मानवअधिकारकर्मी, पत्रकार र चिकित्सक संघका प्रतिनिधिहरू सदस्य छन्।

मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका राहुल साह तुरहा रहेका छन्। वीरगञ्ज कारागारका प्रमुख खिमराज भुसालका अनुसार, मंगलबार बिहान छाती दुख्ने समस्या देखिएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो। यद्यपि, आफन्तहरूले भने प्रमुख जिल्ला अधिकारीले बिरामीलाई अन्य अस्पतालमा रेफर गर्न अनुमति नदिएको आरोप लगाएका छन्।

साहको मृत्युपछि आक्रोशित आफन्तले नारायणी अस्पताल वरपर टायर बालेर विरोध प्रदर्शन गरेका थिए। पर्सा प्रहरीले भीड नियन्त्रणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ