घोराही (दाङ)। दाङको घोराही उपमहानगरपालिका–११, नयाँ बस्तीका डाइवर गन्धर्व करिब तीन दशकदेखि सारङ्गी बनाउने काम गर्दै आएका छन्। तर, पछिल्लो समय नयाँ पुस्तामा सारङ्गी बाजाप्रतिको रुचि घट्दै गएकाले आफ्नो पेसा संकटमा परेको उनको भनाइ छ।
डाइवर गन्धर्वले पहिले महिनामा सात–आठवटा सारङ्गी बिक्री हुने गरेकोमा अहिले मुस्किलले दुई–तीनवटा मात्र बिक्ने गरेको बताए। उनले भने, “बजाउने मान्छे नै नभएपछि बनाएका सारङ्गी कसले किन्छन् र? अब त बनाएका सारङ्गी कोठामा सजाएर राख्नुपर्ने भएको छ।” सारङ्गी बनाउन चाहिने खमारीजस्ता काठको पनि अभाव हुन थालेको उनको गुनासो छ।
सारङ्गी बाजा बजाएरै जीविकोपार्जन गर्ने गन्धर्व समुदायको संख्या घट्दै गएको छ, जसले गर्दा उनीहरूलाई आफ्नो मौलिक पेसाको भविष्यबारे चिन्ता लागेको छ। उनीहरूका अनुसार, यदि नयाँ पुस्ताले यो कलालाई अँगालेन भने सारङ्गी बाजा मात्र होइन, समुदायको पहिचान नै हराउने जोखिम छ।
साना सारङ्गी ४ देखि ५ हजार रुपैयाँ र ठूला आकर्षक डिजाइनका सारङ्गी ९ देखि १० हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छन्। गन्धर्व समुदायका मानिसहरू सारङ्गी बाजाको संरक्षण गर्दै यसलाई व्यावसायिक बनाउन सके कला र संस्कृतिको संरक्षणसँगै रोजगारीका अवसर पनि सिर्जना गर्न सकिने बताउँछन्।