arrow

‘भारतको समर्थनले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम’

logo
प्रकाशित २०७२ पुष ७ मंगलबार
IMG_20151222_145342.jpg.jpeg
काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले सरकारको निर्णय प्रति भारतले गरेको समर्थनले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताएका छन् । मंगलबार रिपोर्टस क्लबको ज्ञापन पत्र बुझ्दै थापाले मित्रराष्ट्र भारतसँगको असमझदारीहरु पछिल्लो प्रयासमा हटेको दावी गर्दै भारतीय विदेश मन्त्री शुष्मा स्वराजको विज्ञप्तिले सकारात्मक रुपमा संकट समाधानमा उत्साह थपेको बताए । ‘सरकारको निर्णयलाई भारतले समर्थन गरेको छ । यसलाई म स्वागत गर्छु । यसले दुई देशवीचको सम्बन्धमा नयाँ आयाम थपेको छ ।’ उनले भने ।

उनले आफूले पहिलादेखि नै नाका सहज हुन्छ भन्दै आएको दोहोर्याउँदै नाका सहज भए नभएको विषय पत्रकारहरुले अनुगमन गर्नु पर्ने बताए । उपप्रधानमन्त्री थापाले मधेसी मोर्चाको अधिकांश माग पुरा गर्ने प्रतिबद्धता सरकारले ब्यक्त गरिसकेको र बाँकी पनि बार्ताबाटै गर्न सकिने स्पष्ट पारिसकेकोले यसलाई सकारात्मक रुपमा लिएर मोर्चाले आन्दोलन फिर्ता लिएर बार्तामा आउनु पर्ने धारणा राखे । उनले भने,‘अब आन्दोलनको औचित्य छैन । बार्ताबाटै समस्या समाधान गरेर जानु पर्छ ।’
उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले बुधवारबाट हुने आफ्नो मित्र राष्ट्र चीनको भ्रमणले नेपालको आर्थिक विकासको लािग चीन र नेपाल दुबै मुलुकलाई फाईदा हुने गरी आर्थिक खाँकाको विषयमा सैद्धान्तिक आधार बनाउने दावी गरेका छन । उनले भने,‘ मेरो चीन भ्रमणले दुई देशवीचको आर्थिक साझेदारीको दिर्घकालिन फ्रेमबर्क बनाउँछ । ’

उपप्रधानमन्त्री थापाले संविधान निर्माणपछि अब नेपालको प्राथमिक कार्यभार आर्थिक समृद्धि भएकोले संसारकै दोस्रो आर्थिक शक्ति चीनसँगको सम्बन्धलाई आर्थिक विकास र समृद्धिमा केन्द्रीत गर्ने गरी आफ्नो भ्रमणमा कुृराकानी हुने जानकारी दिदै चीनसँग आर्थिक, ब्यापारिक सम्बन्ध सुदृढीकरण, लगानी र पर्यटन अभिबृद्धि गर्ने, चीनीया सहयोगमा सञ्चालित आयोजनाको निरन्तरता, थप पूर्वाधार विकासको विषयमा छलफल हुने बताए । 

उनले नेपालले अहिले मुलुकको हितकोलागि ब्यापार विविधीकरणको सिद्धान्त लिएकाले सोही अनुसार चीनबाट ईन्धन आपूर्ति ब्यापारिक ढंगले अघि बढाउनमा रहेका कठिनाईहरुलाई भ्रमणको क्रममा हटाउने बताए । 

उपप्रधानमन्त्री थापाले भने,‘अहिले नै सबै कुरा भन्नु उपयूक्त हुँदैन तर मेरो भ्रमणले चीनसँगको भावी सम्बन्धको आधार तय गर्ने आशा र विश्वास छ । यो नियमित भ्रमण हो । भ्रमण अघि सबै कुरा मलाई भन्न नलगाउनुस । कुटनीतिक एजेण्डा मिडियाबाट भन्दा उपयूक्त हुँदैन । तर सबै विषय बस्तुमा कुरा हुन्छ ।संविधान जारी भएपछि म चीन भ्रमणमा जाँदैछु । त्यसैले पनि यो फलदायी हुन्छ ।’

संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धको यूगमा प्रवेश गरेकोले आफूले दुई पटकको भारत र बेलायत भ्रमणबाट सद्भाव जुटाएको र चीन भ्रमणबाट समेत यो अघि बढ्ने भन्दै भ्रमणको क्रममा नयाँ सरकार, नयाँ परिस्थिति सरकारको प्राथमिकता बताउने नियमित भ्रमण भएको बताए । 

 नेपाल भारत सम्बन्धको बहुआयामिक पक्ष भएकोले यसलाई सुमधुर बनाएर लिएर जानु पर्छ भन्ने पक्षमा आफूले पहल गरिरहेको बताउँदै े आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण सहयोग रहेको स्मरण गरे ।  रिपोर्टर्स क्लब नेपालको अभियानलाई समर्थन गर्दै मन्त्री थापाले भने,‘ क्लब र यसका अध्यक्ष ऋषि धमलाको विगतदेखि आज सम्मको भूमिका अत्यन्त महत्वपूर्ण छ । समस्याको समाधान गर्न खेलेको भूमिकाको म खुलेर प्रसंसा गर्न चाहन्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ