उखु किसानहरूको अनुदान र बक्यौता भुक्तानी माग गर्दै प्रदर्शन जारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
619
Shares
काठमाडौँ । मधेश प्रदेशसहित देशभरका उखु किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल रु. ७० अनुदान र बक्यौता रकम भुक्तानीको माग गर्दै आज (सोमबार) पनि आन्दोलन जारी राखेका छन्। किसानहरूले काठमाडौंको माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै उखुको मूल्य प्रतिक्विन्टल रु. १,००० पुर्याउनुपर्ने माग पनि गरेका छन्।
किसानहरूले आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम तत्काल दिन माग गर्दै 'उखु किसानको अनुदान कटौती गर्न पाइँदैन', 'उखु कृषक शोषण बन्द गर' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यस क्रममा प्रदर्शनमा सहभागी सर्लाहीको बलारा नगरपालिकाका नगरप्रमुख रामा शंकर प्रसाद कुशवाहाले उखु किसानहरूले हरेक वर्ष अनुदान र मूल्य निर्धारणका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरे। उनले किसानले उत्पादन गरेको कुनै पनि वस्तुको मूल्य सरकारले एक्लै तोक्न नपाउने भन्दै मूल्य निर्धारणमा किसानको पनि सहभागिता हुनुपर्नेमा जोड दिए।