arrow

बाजागाजासहित अर्नाको भव्य स्वागत

logo
प्रकाशित २०७३ माघ १५ शनिबार
fauna.jpeg
रत्ननगर । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चितवनका लागि कोसी टप्पु वन्यजन्तु आरक्षबाट ल्याइएको अर्ना संरक्षण र पर्यटन विकासका लागि कोशेढुङ्गा सावित हुने विस्वास व्यक्त गरेका छन् ।  
 
चितवनको रत्ननगर स्थित सौराहामा अर्नालाई स्वागत गर्न आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
 
उनले चितवनको एउटा परिवारको अङ्गका रुपमा अर्ना ल्याएकोसमेत उल्लेख गरे । यसको संरक्षणका लागि सबै एकजुट हुनसमेत उनले आग्रह गरे । 
 
सौराहामा अर्ना पुनःस्थापना कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले चितवन ल्याइएको ‘अर्ना हामी सबैको सम्पती हो’ भने । 
 
मन्त्री भण्डारीले हाल २० वटा अर्ना यहाँ ल्याउने स्वीकृत रहेको जनाउँदै अगामी दिनमा यसको सङ्ख्या बढ्दै जाने विश्वास व्यक्त गरे । 
 
कोसीमा दुई दिन लगाएर समाइएको एक जोडी अर्नालाई उनले रिवन काटेर ट्रकमा राखेर निकुञ्ज प्रवेश गराएका थिए । 
 
निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राति ७ः४५ बजे अर्नालाई खुला खोरमा लगेर छाडिएको छ । 
 
उनले कृष्णसार र बाह्रसिंगेलाई समेत चितवनमा ल्याउने तयारी गरिएको जानकारी गराए । यस्तै मन्त्री भण्डारीले चितवन राष्ट्रिय निकुञ्जलाई कसरी राष्ट्रिय उत्पादनमा उपयोग गर्न सकिन्छ र समुदायलाई लाभ हुन्छ भन्ने विषयमा वन मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए । 
 
फरक प्रसङ्गमा उनले चितवन निकुञ्जको जङ्गलबीचमा रहेको बाँदरझुला बस्ती स्थानान्तरणका लागि सरकारले निर्णय गरेकोसमेत बताए । 
 
कोसीबाट ल्याइएको अर्नालाई सौराहामा स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका थिए । थारु समुदायले आफ्नै पोसाकमा सजिएर अर्नालाई स्वागत गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ