रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई-रिक्सा र चालकलाई पक्राउ गरेको छ ।
माधवनारायण नगरपालिका-६ कि २६ वर्षीया रुबीकुमारी साहको हत्यागरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको प्रहरीमा बयान दिएका छन् ।
ई-रिक्सामा सुटकेसमा राखेर गगापिप्रा गाउँसम्म लैजान भनेको चालक महराले बताए । यस कार्यका लागि चालक महराले पाँच सयमा भाडामा लिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
मुडलवा गेटनजिक पुगेपछि ई-रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई-रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ ।
रुबीको हत्याराको व्यापक खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ । गौर नगरपालिका-९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस भित्र रुबीकुमारीको शव फेला परेको थियो ।